समाचारशनिबार, कार्तिक २५, २०६९
‘जनआन्दोलनका सह–यात्रीहरु सहमति गर’
२५ कार्तिक विहान काठमाडौंमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद शान्ति स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति मुलुक संकटपूर्ण अवस्थामा रहेको भन्दै जनआन्दोलनका सहयात्री दलहरु एकभएर सहमति गरी मुलुकलाई संकटबाट निकास दिन आग्रह गरे ।
उनले दलहरु एक भएर मुलुकलाई निकास दिए मात्रै गणेशमान सिंहको सम्मान हुने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सर्वमान्य नेता स्व. सिंहको विचारलाई अनुशरण गरेमात्र मुलुकले निकास पाउने बताए । उनले गणेशमान सिंहको विचारलाई आत्मसात नगर्दा मुलुकको राजनीति अलमलिएको बताए ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सबै भन्दा ठुलो पार्टीले नै लोकतन्त्र संस्थागत गर्न ध्यान नदिएकाले मुलुकमा संकट उत्पन्न भएको टिप्पणी गरे । उनले गणेशमान सिंहको विचारलाई अनुशरण गर्दै कांग्रेस एमालेले सहमतीय सरकार गठनका लागि संयुक्त रुपमा आन्दलोलनको तयारी गरेको जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री एवम् स्व. सिंहका छोरा प्रकाशमान सिंहले दलका नेताहरुले पनि पद भन्दा मुलुकको समस्यालाई प्राथमिकतामा राखेर अघि बढेमात्र गणेशमानको सच्चा सम्मान हुने विचार व्यक्त गरे ।
कार्यक्रममा अधिकारकर्मी डाक्टर मथुराप्रसाद श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको थियो ।
