समाचारआइतबार, आषाढ २७, २०७२
जानकी कलेजका सञ्चालकलाई हतकडी लगाऊ: सभासद

जानकी मेडिक कलेजबारे शिक्षा मन्त्री चित्रलेखा यादवलाई बोलाएर गरिएको छलफलमा सामाजिक न्याय तथा मानव अधिकार समितिका सभासदहरू । तस्वीरः हिमालखबर
३१७ विद्यार्थीको भविष्य अन्यौलमा पारेको भन्दै सभासदहरुले जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालकलाई हतकडी लगाउन माग गरेका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको २७ असारमा बसेको बैठकमा सभासदहरूले यस्तो धारणा राखेका हुन ।
पीडित विद्यार्थीहरूले संसद गुहारेपछि बोलाइएको बैठकमा बोल्दै सभासद टुकाभद्र हमालले भनिन्, “सयौं विद्यार्थीको भविष्य बर्बाद पार्ने कलेज सञ्चालकलाई हतकडी लगाएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनु पर्छ ।”
अर्का सभासद देवकरण प्रसाद कलवारले कलेज सञ्चालकलाई ठगी मुद्दामा कठघरामा उभ्याउन माग गरे । नियतवश विद्यार्थीको भविष्य बिगारेको भन्दै कलवारले सञ्चालकबाट क्षतिपूर्ति असुल उपर गर्नुपर्ने धारणा राखे ।
बैठकमा सभासद अष्टलक्ष्मी शाक्यले सयौं विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषयमा समेत शिक्षा मन्त्रालय गम्भिर नभएको बताइन् । सञ्चालकको खोजी गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने उनको माग थियो ।
समितिको बैठकले विद्यार्थीको पढाई १० दिन भित्र सूचारु गराउन र सञ्चालक कारवाही गर्न शिक्षा मन्त्रालय, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान(आइओएम) र नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिने निर्णय गरेको छ । जानकी कलेजको विषयमा थप विस्तृत अध्ययन गर्न पाँच सदस्यीय उपसमिति बनाउने पनि समितिको निर्णय छ ।
कारवाही गर्ने दायित्व हाम्रो होइनः शिक्षा मन्त्री
शिक्षा मन्त्री चित्रलेखा यादवले भने जानकी मेडिकल कलेजलाई कारवाही गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयको नभएको बताएकी छन् । सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै यादवले भनिन्, “जानकीलाई कारवाही गर्ने काम मन्त्रालयको होइन ।” मेडिकल काउन्सिल र आईओएमले कारवाही गर्नुपर्ने उनको दाबी छ ।
शिक्षा मन्त्रालयको काम लेटर अफ इन्टेन्ट(एलओआई) दिने मात्रै भएको मन्त्री यादवले बताइन् । अलपत्र परेका ३१७ विद्यार्थी मध्ये आफ्नै बुहारी सहित सात जना आफन्त रहेपनि मन्त्रालयको तर्फबाट केही गर्न नसकिएको उनको भनाई छ ।
गतवर्षदेखि नै भर्ना लिन बन्द गरेको जानकी मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षका ७२, तेस्रो वर्षका ८१, चोथौ वर्षका ९१ र पाँचौ वर्षमा अध्ययन ७३ विद्यार्थीको पढाई अलपत्र परेको छ । विना मापदण्ड सम्बन्धन स्विकृति पाएको जानकी कलेज न्यूनत्तम पूर्वाधार विनै सञ्चालनमा थियो ।
