समाचारआइतबार, आषाढ २७, २०७२
नीति तथा कार्यक्रममा छलफल सकियाे
व्यवस्थापिका–संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सकिएकाे छ ।
आर्थिक वर्ष २०७२÷७३ का लागि प्रस्तुत भएको नीति तथा कार्यक्रममा सांसदहरुले आलोचना गरेका छन् । भूकम्पपछिको पुनःनिर्माण, नवनिर्माण, स्थानीय निकायको निर्वाचनमा जोड दिइएको, जनताका आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको भन्दै सत्तापक्षका सांसदले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् ।
नेकपा एमालेका गोकर्ण विष्टले पूर्वाधार विकाससँगै विद्युत् विकास र जनताको जीवनस्तर उकास्ने प्रभावकारी योजनाको खाका नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए ।
नेपाली कांग्रेसका जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रत्येक विद्यालयमा दलित समुदायबाट एक शिक्षक राख्ने व्यवस्थालाई समेट्न सुझाव दिए ।
नेकपा एमालेका सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रमले प्राथमिकता किटान गर्न नसकेको बताउँदै सामाजिक न्याय र आर्थिक वृद्धि तथा रोजगारी वृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए ।
साथै सरकारको नीति तथा कार्यक्रममा भाग लिँदै सांसद्हरू भेषकुमारी रावत, चन्द्र महर्जन, युवराज ज्ञवाली, भीम आचार्य, हरिप्रसाद नेपाल, प्रभादेवी बज्राचार्य, नरबहादुर चन्द, सुशीला नेपाल, प्यारेलाल राना र गुरुप्रसाद बुर्लाकोटीले पनि आ–आफ्ना धारणा प्रस्तुत गरे ।
