समाचारसोमबार, आषाढ २८, २०७२

शीर्ष नेताहरुले भने, ‘कसैले संविधान निर्माण कार्य रोक्न सक्दैन’

हिमालखबर

सभागृह शिलान्यास गर्दै शीर्ष नेताहरु । तस्वीरः गाेपाल गड्ताैला

सभागृह शिलान्यास गर्दै शीर्ष नेताहरु । तस्वीरः गाेपाल गड्ताैला

झापा पुगेका शीर्ष नेताहरुले संविधान निर्माण कार्य रोक्न अव कसैले पनि नसक्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला स्मृति सभाहलको शिलान्यास गर्दै उनीहरुले चाँडै संविधान बन्ने बताए । एउटै कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु हिड्नुले पनि संविधान निर्माणको आधार बलियो बनाएको उनीहरुले तर्क गरे ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सीमाकंन गरेरै संविधान जारी गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, “संघीय प्रदेशहरुको सीमाकंनबारे छलफल भइरहेको छ ।”

छिमेकी मुलुक चीन र भारतको विकासले पनि राजनीतिक स्थिरता आवश्यक रहेकाले चाँडै संविधान जारी गर्नु आवश्यक रहेको प्रधानमन्त्री कोइरालाले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान बन्न लागेको बेला जातको नाममा बिषालु इन्जेक्सन लिएर घोच्दै जनता भड्काउन संविधान बिरोधीहरु सकृय भएको बताए । ओलीले भने, “संबिधान बनेको मन नपराउनेहरु अहिले मधेश र पहाडलाई एकअर्काको बिरोधी भनेर हिँडदैछन् ।”

उनले संविधान विरोधीहरु जनताले चिन्नुपर्ने बताए । ओलीले साझा दस्ताबेजको रुपमा मुलुकले चाँडै संबिधान र असहमत पक्षसँग वार्ता भइरहेको बताए ।

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालासँग भएको १२ बुँदे सम्झौताले मुलुकको राजनीतिलाई नयाँ दिशा दिएको बताए । दाहालले भने, “राजतन्त्र मान्ने कांग्रेस र गणतन्त्र मान्ने माओबादीलाई त्यो सम्झौताले लोकतन्त्रमा समेटेको थियो ।”

संबिधानसभाको अजेण्डा इतिहासमा कांग्रेसले उठाएको र कालन्तरमा माओबादीले बोकेको बताए । उनले भने, “म भन्दा झण्डै ३२ बर्ष जेठो उहाँ (गिरिजाप्रसाद कोइराला)सँग मेरो घनिष्ठ दोस्ती बन्यो ।”

मधेशी जनअधिकार फोरम लोकतन्त्रिकका अध्यक्ष बिजय गच्छदारले झापामा एउटै कार्यक्रममा शिर्ष नेतृत्वको सहभागितालाई संबिधान निर्माण कार्यमा बलियो एकताको सन्देशको रुपमा लिन आग्रह गरे ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री एबं कांग्रेस उपसभापति प्रकाशमान सिंह, कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले मुख्य सचेतक अग्नि खरेल लगायतका नेताहरु पुगेका थिए ।

त्यहाँ स्थानीय विकास मन्त्रालयको १६ करोडको लागतमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह बन्न लागेको हो । भद्रपुर नगरपालिका–१०, मा तीन बर्षभित्रमा बन्ने सभागृह तीन तले हुनेछ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>