समाचारमंगलबार, आषाढ २९, २०७२

युवा संघका उपाध्यक्ष पन्त र सचिव शाहीलाई निलम्बन

हिमालखबर

युवा संघ केन्द्रीय स्थायी कमिटी बैठकले उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई निवम्लन गर्ने निर्णय गरेको छ ।

निरुदेवी पालको अध्यक्षतामा बसेको बैठकले पन्त र शाहीलाई संगठनमा आँच आउने गतिविधि गरेको भन्दै निलम्बनको निर्णय गरिएको प्रवक्ता प्रभातविक्रम कट्वालले बताए । उनले भने, “सच्चिन आग्रह गर्दै निलम्बन गरेका छौं, नसच्चिएसम्म निलम्बन फुकुवा हुँदैन ।”

प्रवक्ता कट्वालका अनुसार पन्त र शाहीलाई सच्चिनका लागि २२ साउनसम्मको समय दिइएको छ । प्रविधिको दुरुपयोग, संघको हित विपरीत बोलेको, बरिष्ठ उपाध्यक्ष लेखेको र समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै संघले  निलम्बन गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट रहेका महेश बस्नेत उद्योग मन्त्री भए लगत्तै निरुदेवी पाललाई अध्यक्ष बनाएपछि विवाद चर्किदै गएको छ । बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधरले बस्नेतको निर्णय विधान विपरीत भएको भन्दै समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् ।

निलम्बनको निर्णयमा परेकी पन्तले भने विधान र संघको हित बिपरीत काम गर्ने निरुदेवी पाल नेतृत्वको समूह नसच्चिएसम्म समानान्तर गतिविधि नरोक्ने बताइन् । उनले भनिन्, “विधान विपरीत निर्णय नगर्नुहोस् भन्दै आएका छौं । उहाँहरुले मान्नु भएकाे छैन् ।” पन्त नेतृत्वको युवा संघले २८ असारमा काठमाडौंमा ‘लिपुलेक’ भूमिबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

बरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथी बनाएर कार्यक्रम आयोजना गरिएको भोलिपल्ट पाल नेतृत्वको युवा संघले पन्त र शाहीलाई निलम्बनको निर्णय गरेको छ । पन्त भन्छिन्, “देश हितको पक्षमा कार्यक्रम गरौं भन्ने प्रस्ताव नमान्ने अनि हामीले गर्दा रातारात यस्तो निर्णय किन ?” संघका दुवै पक्षले एकअर्कालाई विधान मिचेको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>