समाचारबुधबार, आषाढ ३०, २०७२
बजेट पूर्वाग्रही: ओली, चित्त दुखेको छ: नेपाल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसद्मा पेस गरेको बजेट पूर्वाग्रही र एकपक्षीय भएको आरोप लगाएका छन् ।
संविधानसभा भवन नयाँ वानेश्वरमा ३० असारमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भने “बजेटलाई हेर्दा यो मुलुक कांग्रेस एक्लैले चलाएको जस्तो भान भयो, यो हुनु दुःखद् हो । यसको हामी प्रतिवाद गरेर अघि बढ्छौँ ।”
बजेटमा भएका कमजोरी र पूर्वाग्रहबारे सरकारको अगुवाइ गरिरहेको नेपाली कांग्रेसले गम्भीरतापूर्वक सोच्नुपर्ने ओलीले बताएको एमाले सभासद् भानुभक्त ढकालले जानकारी दिए ।
आफ्ना सांसदहरुलाई संसद्को बैठकमा सोही रुपमा प्रस्तुत हुन समेत ओलीले निर्देशन दिएका थिए ।
बैठकमा बजेटका राम्रा नराम्रा र कमजोरीका पक्षबारे छलफल भएको थियो । राष्ट्रिय योजना आयोगमा एमाले तर्फबाट सदस्य प्रेम दङ्गाल लगायतले बजेटबारे ब्रिफिङ गरेका थिए ।
नेता माधवकुमार नेपालले सञ्चारकर्मीसँग भने, “बजेटमा राजनीतिक गन्ध देखियो । सत्ता साझेदार दलसँग पनि खुल्ला छलफल नगरी ल्याइयो । यसबाट एमालेको चित्त दुखेको छ ।”
नेता नेपालले आग्रह र पूर्वाग्रहका साथ बजेट ल्याइएको, राष्ट्रिय गौरवका आयोजनालाई महत्व नदिइएको, पुष्पलाल, मदन भण्डारीजस्ता नेताका नामका कार्यक्रम र त्यससम्बन्धी प्रस्तुतिमा सम्मानजनक स्थान नदिएको टिप्पणी गरे ।
बैठकमा नेता नेपाल, उपाध्यक्ष विद्या भण्डारी, नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्निप्रसाद खरेललगायतले बोलेका थिए ।
