समाचारबुधबार, आषाढ ३०, २०७२
सङ्घीयता बिनाको संविधानको कल्पना गर्न सकिदैन: प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता बिनाको संविधानको कल्पना गर्न समेत नसकिने भन्दै संविधानमा सबैलाई समेटेर अगाडि बढने प्रयास भइरहेको बताएका छन् ।
जनकपुरको राम चोकमा नवनिर्मित राम टावरको ३० असारमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सीमाङ्कनका बारेमा उठिरहेको विषयमा पनि व्यापक छलफल भइरहेको उल्लेख गरे ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता परिवर्तनको ठूलो उपलब्धि भएको चर्चा गर्दै उनले संविधानको विरोध गर्ने मधेशी दलका नेताहरुसँग पनि छलफल भइरहेको बताए ।
उनले हुलाकी सडकको काम चाँडै शुरु हुने भन्दै तराईको सामाजिक आर्थिक विकासका लागि सरकारले विशेष कार्यक्रम ल्याउने वाचा गरे ।
प्रधानमन्त्री कोइरालाले जनकपुरको प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा पूजापाठसमेत गरेका थिए ।
