समाचारबुधबार, आषाढ ३०, २०७२
कमलनयनाचार्यका उत्तराधिकारी पक्राउको विरोधमा प्रदर्शन

तस्वीर: विद्रोही गिरी
गजेन्द्रमोक्ष–त्रिबेणी मार्गका संयोजक तथा कमलनयनाचार्यका उत्तरधिकारी कृष्ण प्रपन्नाचार्यको पक्राउको विरोधमा उनका समर्थकहरुले नवलपरासीमा प्रदर्शन गरेका छन् ।
नारा जुलुशसहित नवलपरासी जिल्ला प्रशासन कार्यालय पुगेका कमल नयानाचार्यका समर्थकहरुले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
आश्रममा रहेका संस्कृति विद्यालयका बालबालिका सहित करिब डेढ सयको संख्यामा परासी आएका समर्थकहरुले प्रशासनको प्रवेशद्धारामा प्रपन्नचार्यलाई रिहाई गर, मध्यवर्ती क्षेत्र खारेज गर, जस्ता नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए ।
स्थानीय बुद्धचोकमा कोणसभा समेत गरेपछि गजेन्द्रमोक्ष जनता मार्गका सचिव चिरन्जीवि ढुङ्गानाले प्रपन्नाचार्यलाई तत्काल रिहाइ नगरे पुरै जिल्ला ठप्प पार्ने चेतावनी दिए ।
उनीहरुले विहान त्रिवेणी मध्यवर्ती सामुदायिक वनको कार्यालय, निकुञ्जको त्रिवेणी पोष्टमा तालाबन्दी गरेका थिए भने त्रिवेणी बजार, रानीनगर, कुडिया, बेलाटारी, सेमरी बजार बन्द गराउन माइकिङ्गं समेत गरेका थिए तर, त्यहाँका केही पसलहरुमात्र बन्द भए ।
त्रिवेणी धाम पर्यटन समितिका सचिव सुरज कोहाँरले प्रपन्नाचार्यको गिरफ्तारीले कानून सबैलाई उस्तै लाग्छ भन्ने देखाएको बताए ।
कमलनयनाचार्यले निकुञ्ज अन्तर्गत रहेको त्रिवेणी क्षेत्रको २५ विगाहा वनक्षेत्रमा १० वर्षदेखि कब्जा गरी कम्पाउण्डवाल लगाई मठ मन्दिर लगायतका भौतिक संरचना खडा गरेका छन् ।
उक्त स्थानलाई पूर्व–पश्चिम राजमार्गसंग जोड्न २१ किलोमिटर लामो सडक बनाइँदै छ । उक्त सडकका लागि जिविस, सडक डिभिजन, गाविस, राष्ट्रिय योजना आयोगले यसअघि बजेट छुट्टयाउने गरेका थिए ।
निकुञ्जले पटक पटक सडक खन्न रोक लगाउँदै आए पनि राजनीतिक पहुँच र प्रभावका आधारमा कमलनयनाचार्यले सडक खनाउँदै आएको स्थानीयको भनाई छ ।
“२५ विघा जंगल क्षेत्रभित्र भौतिक संरचना निर्माण र सडक सञ्जाल बनाइँदा काटिएको काठ कहाँ गयो, त्यसको लेखाजोखा छैन्,” एक स्थानीयले भने ।
कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यलाई चितवन राष्ट्रिय निकुञ्जले नवलपरासीबाट पक्राउ गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार अहिले उनलाई चितवन निकुञ्जमा राखेर अनुसन्धान शुरु गरिएको छ ।
निकुञ्जको पश्चिम सेक्टर त्रिवेणीधामस्थित गजग्राह क्षेत्रमा ऐन विपरीत भौतिक संरचना निर्माण गरेको र वन फँडानी गरेको आरोपमा उनलाई पक्राउ गरिएको पनि पौडेलले जानकारी दिए ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रको भूभाग पर्ने उक्त संरक्षित क्षेत्रमा मठमन्दिर, गोठ तथा बाटोघाटो निर्माण र वन फँडानी गरेको आरोप निकुञ्जले लगाएको छ ।
उनलाई निकुञ्ज ऐन २०२९ अनुसार कारबाही गरिने जनाइएको छ ।
कमलनयनाचार्यले भक्तपुर, छालिङ–९ मा समेत वनक्षेत्र कब्जा गरी भब्य आश्रम बनाएका छन् । वनक्षेत्रको रूख मासेर सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्दा पनि उनलाई कार्वाही गर्नुको साटो उक्त क्षेत्र उनैलाई ‘पञ्च महालक्ष्मी अखण्डज्योति धार्मिक वन’ का नाममा सरकारले गरिदिएको छ ।
कमलनयनाचार्यको सबै जसो राजनीतिक दलका प्रमुख नेताहरु, ठूला व्यवसायी लगायतसँग उठबस छ ।
विद्रोही गिरी, नवलपरासी
