समाचारशुक्रबार, साउन १, २०७२
मस्यौदामा सुझावका लागि दुई दिन सरकारी विदा
संविधानको मस्यौदामाथिको सुझाव संकलनलाई सहज बनाउन भन्दै सरकारले दुई दिन सार्वजनिक विदा दिने भएको छ।
मन्त्रिपरिषद्को १ साउनमा बसेको बैठकले साउन ४ र ५ गते अति आवश्यक बाहेकका सरकारी कार्यलयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
संविधानको मस्यौदामा सुझाव लिन र त्यससम्बन्धी छलफलका लागि भन्दै सरकारले दुई दिन विदा दिने निर्णय गरेको हो । साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिंदै छ ।
यसपटक २ असारमा शनिबारको विदापछि ३ असार आइतबार इदको सार्वजनिक विदा परेको छ । ४ र ५ गते पनि विदा थपिएपछि चार दिन लगातार सार्वजनिक विदा हुने भएको छ ।
संविधानको पहिलो मस्यौदामा सुझाव लिन सभासदहरु १ साउनदेखि नै आ–आफ्नो निर्वाचन क्षेत्रमा जाँदैछन् ।
आर्थिक बर्ष २०७२/०७३ को बजेट ३१ असारमा पारित गरेर सभासदहरु सुझाव संकलन गर्न निर्वाचन क्षेत्रतर्फ लागेका हुन् ।
