समाचारशनिबार, साउन २, २०७२

सड्यो राहतको औषधि, नष्ट गर्न सकस

हिमालखबर

गोरखाका भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले ल्याइदिएको औषधिको म्याद गुज्रेपछि नष्ट गर्न समस्या भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले टेन्टभित्र भण्डारण गरिराखेको जीवन जल, घाउमा लगाउने बेटाडिन सोलुसन, एमोक्सिलिन इन्टिवायोटिक, मेट्रोनिडाजोल र नसा र स्नायु रोगसम्बन्धी औषधिको म्याद सकिएको हो । सात सय प्याकेट औषधिको म्याद दुई महिनाअघि नै सकिएको हो । एक महिना म्याद बाँकी भएका औषधि भूकम्पपीडितका लागि प्रयोग गर्न वैशाखमा जिल्ला भित्र्याइएको थियो ।

ती औषधि नष्ट गर्न समस्या भएको रेडक्रसका जिल्ला सभापति यदुविलास भट्टराईले बताए ।

पहिले निर्माण व्यवसायी सङ्घको हलमा भण्डारण गरेको औषधि अहिले टेन्टभित्र राखिएको हो । कारितास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सङ्घले हल भाडामा दिएपछि रेडक्रसले टेन्टभित्र औषधि राखेको छ ।

“अधिकांश औषधिको म्याद सकिएको छ” सभापति भट्टराईले भने, “म्याद सकिएका सबै औषधि अब नष्ट गरिन्छ ।”

पटना रेडक्रसले पर्सा रेडक्रससँग समन्वय गरी गोरखामा औषधि ल्याएको थियो । म्याद सकिनै लागेका औषधि आएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख दोस्रो साता औषधि नझार्न रेडक्रसलाई सुझाव दिएको थियो । तर, रेडक्रसले औषधि झारेर भण्डारण गरेको थियो ।

“कुनै औषधि एक महिना, कुनै दुई महिना, कुनै तीन महिनामात्रै म्याद बाँकी रहेको थियो” जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले भने, “म्याद सकिन लागेका औषधि नष्ट गर्नमात्रै हैरानी हुन्छ भनेर हामीले लिएनौँ । रेडक्रसले भण्डारण गरेछ ।”

म्याद सकिएका ती औषधि कहाँ कसरी नष्ट गर्ने भन्नेबारे तनाव भएको उनको भनाइ छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>