समाचारसोमबार, साउन ४, २०७२
सप्तरीमा पनि गोली चल्यो, केन्द्रीय अध्यक्षसहित दर्जन बढी घाइते
नयाँ संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा झडप भएको छ ।
४ साउनमा भएको झडपमा परी एक दर्जन बढी मधेश केन्द्रीत दलका कार्यकर्ता घाइते भएका छन् । सप्तरीको तीन वटै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा झडप भएको थियो ।
क्षेत्र नम्बर एक अन्तर्गत कञ्चनरुप नगरपालिकाको कञ्चनपुर, क्षेत्र नम्बर २ को भारदह र क्षेत्र नम्बर ३ को सदरमुकाम राजविराजमा कार्यक्रम आयोजना गरिएको थियो ।
भारदहको कार्यक्रममा हो–हल्लापछि झडप भएको हो । स्थानीय कङ्कालिनी माविमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई खानतलासी गर्ने कार्यको बिरोधमा नाराबाजी गर्दा प्रहरीले बल प्रयोग गरेका थिए ।
अवस्था नियन्त्रणमा लिन गरिएको प्रहरीको लाठी चार्जमा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिबारीसहित आधा दर्जन घाइते भएका छन् ।
झडपमा परी संघीय समाजवादी फोरमका योगेन्द्र यादव, सद्भावना पार्टीका जगदीश गोस्वामी र पुके दाससहितका छन् । तिबारीको राजविराजस्थित गजेद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तथा अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर तथा चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपपछि प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदहमा दिउँसो एक बजेदेखि चक्काजाम गरिरहेका छन् ।
प्रहरीले झडपको समाचार संकलन गर्न गएका पत्रकार राजु शर्मामाथि लाठी प्रहार गरेका छन् भने अर्का पत्रकार गंगा प्रसाद साहको क्यामेरा खोसेका छन् । यद्यपी क्यामेरा केहि बेरपछि फिर्ता गरेको पत्रकार साहले जानकारी दिए ।
यस्तै, सदरमुकाम राजविराजमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, जिल्ला अध्यक्ष दिनेश यादव, क्षेत्र नम्बर ३ का अध्यक्ष नवनीत झा, उमेश यादव र तेजेन्द्र झा, सद्भावनाका युवा नेता दिनेश यादव, तथा मातृका यादव नेतृवको नेकपा–माओवादीका युवा नेता मुकेश यादव घाइते भएका छन् ।
-श्रवणकुमार देव, राजविराज
