समाचारसोमबार, साउन ४, २०७२
घेराउ र ढुंगा प्रहारपछि ४५ मिनेटमै फर्के दाहाल
संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न सिराहा पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ४५ मिनेट मात्र रहेर काठमाडौ फर्केका छन् ।
सिराहा क्षेत्र नम्बर ५ अन्तर्गत मिर्चैयास्थित मोहन उमाविमा सुझाव संकलका लागि आएका दाहाललाई मधेश केन्द्रीत दल, नेकपा–माओवादी र मातृका यादव नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताहरुले घेराउ गर्दै कार्यक्रमस्थलमा ढुँगामुडा गरेका थिए ।
हेलिकप्टरबाट लहान आएका उनी त्यहाँबाट गाडीमा मिर्चैया पुगेका थिए । कार्यक्रम चलिरहेकै समयमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले स्कटिङ्ग गरेर दाहाललाई बाहिर निकालिएको थियो ।
दाहाललाई प्रदर्शनकारीले कालो झण्डा समेत देखाएका थिए । सुझाव संकलनका लागि त्यहाँ पुगेका दाहालले कार्यक्रममा कुनै मन्तव्य समेत दिएनन् । प्रदर्शनकारीकाे अाक्रमणमा परी डीएसपी माधव बुढाथाेकीसहित केही प्रहरी पनि घाइते भएका छन् ।
यसबाहेक सिराहाका अन्य ५ वटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा सुझाव संकलन कार्य सकिएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताए ।
-श्रवणकुमार देव, राजविराज
