समाचारमंगलबार, साउन ५, २०७२
गणेश थापामाथि आक्रमण
सुझाव संकलनमा विरोध जनाउन हेटौडा पुगेका राप्रपा नेपालका सभासद गणेश थापामाथि आक्रमण भएको छ ।
मकवानपुर क्षेत्र नम्बर ३ अन्तर्गत हेटौडास्थित पल्पसा सभासहलमा भएको सुझाव संकलन कार्यक्रममा प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको हो ।
हिन्दुराज्य माग गर्दै नाराबाजी गरेर कार्यक्रम बिथोल्न खोजेपछि झडप भएको हो । झडपमा परी राप्रपा नेपालका सभासद् गणेश थापा, जिल्ला अध्यक्ष नवराज विष्ट र कार्यकर्ता गुरुप्रसाद सापकोटाको टाउँकोमा चोट लागेको छ ।
प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएपछि हेटौंडामा रहेका अध्यक्ष कमल थापा घटनास्थल पुगेका छन् । अहिले संकलन कार्यक्रम बिथोलिएको छ ।
घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापाको श्रीमती प्रलितामाथि पनि त्यहाँ आक्रमण भएको थियो ।
सुरजकुमार भुजेल, हेटाैडा
