समाचारबुधबार, साउन ६, २०७२
राप्रपा नेपालको बन्दले झापाको जनजीवन प्रभावित

राप्रपा नेपालले झापा बन्द गरेको छ । तस्वीर: गोपाल गडतौला
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित भएको छ ।
प्रस्तावित संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा आफूहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै राप्रपा नेपालले आह्वान गरेको बन्दका कारण लामो तथा छोटो दूरीका सवारीका साधन, उद्योगधन्दा, कलकारखाना तथा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।
बन्दका कारण सवारीसाधन सञ्चालनमा नआउँदा सबैभन्दा बढी यात्रु मर्कामा परेका छन् ।
बन्दकर्ताले दमक, बिर्तामोड, धुलाबारी, भद्रपुर लगायतका शहरमा यातायातका साधन गुडन र पसलहरु खोल्न दिएका छैनन् ।
झापा आइपुगेका लामो दुरीका यातायातका साधनका यात्रुहरु गन्तब्यतर्फ जान नसकेर अलपत्र परेका छन् ।
काठमाण्डौ लगायत पश्चिमबाट काँकडभिट्टा हिँडेका दर्जननबढि बसहरु झापाको दमकमा थन्किएका छन् ।
संविधानको मस्यौदामा सुझाव संकलनमा अवरोध गरेपछि राप्रपा नेपालका नेता–कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको थियो । त्यसैक्रममा ५ साउनमा हेटौंडामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका भाइ एवम् सभासद् गणेश थापा हेटौंडामा घाइते भएका थिए भने ४ साउनमा अध्यक्ष थापाका पत्नी प्रलिता थापा घाइते भएकी थिइन् ।
गोपाल गडतौला, झापा
