समाचारबुधबार, साउन ६, २०७२
आफ्नै प्रतिवद्धता तोड्दै राप्रपा नेपालको बन्द

दमकमा राप्रापा नेपालले गरेको बन्द । तस्वीर: गोपाल गडतौला
‘नेपाल वन्द जस्ता विरोधका कार्यक्रम कहिल्यै नगर्ने’ प्रतिवद्धता जनाएको राप्रपा नेपालले मकवानपुरदेखि झापासम्मका विभिन्न जिल्लामा बन्दको आह्वान गरेको छ ।
राप्रपा नेपालको बन्दबाट मकवानपुर, पर्सा, बारा, रौतहट, सिरहा, मोरङ, सुनसरी झापा जिल्लाको जनजीवन प्रभावित भएको छ ।
संविधानको मस्यौदामा सुझाव संकलनका लागि ५ साउनमा देशका विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रममास्थल नजिक गएर विरोध प्रदर्शन गरिरहेका राप्रपा नेपालका नेता–कार्यकर्तासँग प्रहरीको झडप भएपछि त्यसको विरोधमा बन्दको आह्वान गरिएको राप्रपा नेपालले जनाएको छ ।

हेटौंडामा राप्रापा नेपालले गरेको बन्द । तस्वीर: सुरजकुमार भुजेल
बन्दका कारण मकवानपुर, पर्सा, बारा, रौतहट, झापा लगायतका जिल्लामा सवारी साधन चल्न सकेका छैनन, विद्यालय, निजी कार्यालयहरु ठप्प छन् । बन्दको प्रभाव मकवानपुर र झापामा बढी परेको छ ।
वीरगञ्ज, कलैया, गौर लगायतका बजारका पसलहरु आंशिक खुलेका छन् । बजार क्षेत्रमा राप्रपा नेपालका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जबरजस्ती बजार बन्द गराएका छन् भने भित्री बजारहरु खुलेका छन् ।

वीरगञ्जमा पनि राप्रपा नेपालले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको छ । तस्वीर: सुरेश बिडारी
आफ्नो निर्वाचन घोषणपत्रमै ‘नेपाल बन्द कहिल्यै नगर्ने’ उल्लेख गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले ९ असोज २०७० मा ट्वीटरमा समेत यस्तो प्रतिवद्धता गरेका थिए । तर, उक्त प्रतिवद्धता राप्रपा नेपालले २१ महिनामै तोडेको छ ।
राप्रपा नेपालका सहमहामन्त्री राजाराम श्रेष्ठले भने नेपाल बन्द गर्ने पार्टीेको नीति नभएको तर, ५ साउनमा पार्टीका नेता-कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा जिल्ला तहमा शान्तिपूर्ण विरोधका कार्यक्रमहरु मात्रै गरिएको दाबी गरे । 
गोपाल गड्तौला, सुरजकुमार भुजेल र सुरेश बिडारी
