समाचारआइतबार, कार्तिक २६, २०६९
सत्तापक्षीय मोर्चा र विपक्षीदलहरु बीच वार्ता हुने
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बजेट र राजनीतिक विषयमा छलफलका लागि सत्ता गठबन्धन र विपक्षी प्रमुख दलहरुको बैठक २६ कार्तिक साँझ हुने दाहालको निजी सचिवालयले जानकारी दिएको छ ।
सत्तारुढ गठबन्धन मोर्चाले अध्यक्ष दाहाललाई सहमति जुटाउने जिम्मा दिएपछि मुख्य दलहरू एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरूको बैठक आज साँझ बस्ने भएको हो ।
सरकारले २७ कार्तिकमा करिब साढे चार अर्ब रुपैपाँ बराबरको अनुमानित बजेट ल्याउने तयारी गरेको छ ।
विपक्षी दलहरूले सहमतिविनाको बजेट अस्वीकार गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई लिखित आग्रह गरिसकेका छन् । सरकार भने आर्थिक सङ्कट टार्नका लागि भन्दै सहमति नभएपनि बजेट ल्याउने मानसिकतामा देखिएको छ ।
