समाचारबुधबार, साउन ६, २०७२
जगैदेखि भत्काएर मनकमना मन्दिर पुन:निर्माण शुरु
चार सय वर्ष पुरानो प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर भूकम्पले जिर्ण बनाएपछि जगैदेखि भत्काएर पुन: शिलान्यास गरिएको छ ।
६ साउन बिहान १० बजेको साइतमा धार्मिक विधिविधानअनुसार जग पूजा गरेर मन्दिरको शिलान्यास गरिएको हो ।
मन्दिर निर्माणको काम शुरु भएकाले पहिले मन्दिर रहेको स्थानको अगाडि आँगनमा पूजाअर्चना शुरु गरिएको छ । मन्दिरको एकतल्ला निर्माण सम्पन्न भएपछि मन्दिरभित्रै पूजा शुरु गरिने छ । अहिले ३० जना कामदारले मन्दिर पुनःनिर्माणको काम गरिरहेका छन् । दश जना कालीगढ भक्तपुरदेखि ल्याइएको छ ।
आउँदो दशैंसम्म मन्दिरको एकतल्ला निर्माण गरिसक्ने समितिले तयारी गरेको छ ।
विसं १९९० र २०४५ को भूकम्पले ६ इन्च दक्षिण–पश्चिम दिशातर्फ ढल्केको मन्दिर गत १२ वैशाखमा गएको भूकम्पले थप ६ इन्च दक्षिण–पश्चिम ढल्कन पुग्यो ।
“जीर्ण भइसकेको मन्दिर १३ दिन लगाएर भत्काइयो,” मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, “चार दिन लगाएर खनेको जगमा आज शिलान्यास गरिएको हो ।”
जीर्णोद्धार समितिले जगको माटो परीक्षणका लागि पठाएको थियो । चट्टानी धरातल भेटिएपछि जग राखिएको संयोजक श्रेष्ठको भनाइ छ ।
मन्दिर शिलान्यास गर्दै प्रजिअ तिमल्सेनाले दुई वर्षभित्र मन्दिर पुनःनिर्माण गरिसक्नुपर्नेमा जोड दिए । पहिले मन्दिर रहेकै जगमा पुनःमन्दिर निर्माण गर्न लागिएको हो ।
पुरातत्वका इन्जिनियर अमृत शाक्यको प्रत्यक्ष निगरानीमा पहिलेको जस्तै मन्दिर निर्माण गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको उपस्थितिमा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले मन्दिरको जगमा शिलान्यास गरेका छन् ।
रु १५ करोड खर्च गरेर मन्दिर पुनःनिर्माण गर्न लागिएको मुख्य पुजारी इन्सान थापाले बताए । मन्दिरका साथै दक्षिण–पश्चिम क्षेत्रमा रहेको पर्खाल पनि जगैदेखि भत्काएर बनाउनुपर्ने भएकाले लागत बढ्ने उनको भनाइ छ ।
मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठ, बालुवा, इँटा, सुर्की, चुना मन्दिर परिसरमा ल्याइसकिएको छ । मन्दिरमा आवश्यक पर्ने इँटा काठमाडौँका हीराकाजी महर्जनले निःशुल्क उपलब्ध गराएको समितिले जनाएको छ ।
मन्दिर जीर्णोद्धारका लागि सरकारले पटक–पटक गरी रु चार करोड दिएको छ । सरकारले दिएको पैसाले सुन र काठ किनेको समितिका संयोजक श्रेष्ठले बताए ।
साथै भक्तजनबाट रु ४ करोड ८० लाख सङ्कलन भएको छ । उनका अनुसार अझै रु दुई करोडको सुन आवश्यक पर्छ ।
