समाचारबिहीबार, साउन ७, २०७२

लाङटाङ फेरि गुलजार हुने

हिमालखबर

१२ वैशाखमा भूकम्प जानुअघिको लाङ्टाङ् । तस्वीर: लाङ्टाङट्रेकबाट साभार

१२ वैशाखमा भूकम्प जानुअघिको लाङ्टाङ् । तस्वीर: लाङ्टाङट्रेकबाट साभार

भूकम्पले क्षतिग्रस्त र हिमपहिरोको थप जोखिम भएपछि मानव बस्ती हटाइएको लाङ्टाङ क्षेत्रमा पुनर्वास गराउने कार्य अगाडि बढेको छ ।

रसुवाका स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार भूगर्भविद्को सिफारिसमा विस्थापित लाङ्टाङवासीलाई लाङ्टाङ गाविसअन्तर्गतको रिम्चे, घोडातबेला, व्याङ्स्याप, सिन्दूप र क्याङ्जेनसमेत गरी पाँच स्थानमा बसोवास गर्ने अनुमति प्रदान गरिएको हो ।

गत जेठको पहिलो साता नेपाली सेनाको हेलिकप्टरबाट लाङ्टाङ क्षेत्रबाट धुन्चे ल्याइएपछि काठमाडौँस्थित स्वयम्भू क्षेत्रको एलो गुम्बामा पुर्‍याइएका ११६ घरपरिवारका ४९६ जना लाङ्टाङवासी आफ्नो थातथलोमा फर्कन पाउने अनुमतिले खुशी भएका छन् ।
यो कदमबाट हिमाली दृश्यावलोकनका लागि हिमाल पुग्ने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

काठमाडौँमा गर्मी र लामखुट्टेको टोकाइबाट वाक्क भएका लाङ्टाङ्बासी जन्मथलोमा पुगी हिमनदीको चिसोपानी पिउने आशामा थिए । अहिले लाङ्टाङ फर्कन पाउने अनुमति दिइएको खबरले गाउँवासीमा उत्साह बढेको छ । वस्तुभाउ रेखदेखका लागि ६५ जना गोठाला यसअघि नै आफूखुसी लाङ्टाङ फर्किसकेको पुनर्वासका अभियन्ता सुप्पा तामाङले बताए ।

लाङ्टाङभित्रको लाङ्टाङ गाउँमात्र हिमपहिरोले पुरेको र पहिरोले बेपत्ता भएका १७५ स्थानीयवासीमध्ये १५३ जनाको शव फेला परिसकेको छ ।
पहिरोका रुपमा झरेको हिउँ क्रमशः पग्लिँदै गएकाले पहिरोले पुरेका र क्षति पुर्‍याएका घरका भग्नावशेष क्रमशः देखिन थालेको तामाङले बताए ।

स्याफ्रुबेँसी, वृद्धिमको खाम्जिङ शेर्पागाउँ रिम्चे हुँदै लाङ्टाङसम्मको पैदलमार्ग निर्माणका लागि रु १५ लाखसमेत बजेट व्यवस्थापन गरी दुई महिनाभित्र काम सम्पन्न गर्न कार्यादेश दिइसकेको बताउँदै स्थानीय विकास अधिकारी कोइरालाले पुनर्वासअन्तर्गत आफ्नो थातथलोमा जाने लाङ्टाङवासीको बसोवासका लागि ५० वटा टेन्ट प्रदान गरी आवश्यक खाद्यान्नको जोहो मिलाइएको जानकारी दिए ।
स्थानीय जनता फर्किएपछि गाविस, स्वास्थ्य संस्था, विद्यालय र प्रहरी चौकी क्याङ्जेनमा पुनः सञ्चालनमा ल्याउन आन्तरिक छलफलसमेत भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>