समाचारआइतबार, कार्तिक २६, २०६९
आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय
वर्तमान सरकारलाई विस्थापन गरी सहमतिको सरकार गठनबाट संविधानसभाको निर्वाचन गराउन भन्दै २६ असोजमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले व्यापक जनपरिचालन गरी आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।
कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले दलहरुको आ–आफ्नो भागमा परेको कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गर्दै आन्दोलनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउने र कार्यविभाजन गरेर जानेबारेमा छलफल भएको बताए । आवश्यक परे पार्टी केन्द्रीय समितिको बैठक बसेर त्यसलाई औपचारिकता दिनेसमेत निर्णय भएको छ ।
उनले राष्ट्रिय सहमति बेगर सरकार अघि बढे देशमा संविधानसभाको निर्वाचन पनि असम्भव हुन पुग्ने हुँदा तत्काल सहमति कायम गरी अघि बढ्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडुले वर्तमान राजनीतिक र संवैधानिक सङ्कटको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले अब सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरी सहमतिको सरकार बनाएर बजेटदेखि सबै विषयमा सहमति खोज्नुपर्छ भन्नेमा छलफल भएको बताए ।
उनले बजेटबारेको नेपाली काँग्रेसको अडान यथावत रहेको भन्दै नयाँ सरकारले मात्र दलीय सहमति जुटाएर बजेट ल्याउन सक्नेमा जोड दिएका थिए ।
