समाचारबिहीबार, साउन ७, २०७२

चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने

हिमालखबर

china_nepalचीनले नेपालमा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।

भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा आज यहाँ सम्पन्न सचिवस्तरीय द्विपक्षीय संयुक्त वार्तामा चीनले उक्त घोषणा गरेको हो ।

भूकम्पसँगै पहिरो खस्दा क्षति भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने अर्थसचिव सुमनप्रसाद शर्माले जानकारी दिए ।

काठमाडौँ तथा सिन्धुपाल्चोकमा व्यवस्थित बस्ती विकास, पुनःनिर्माण, भूकम्पपीडितलाई अन्य भौतिक सहयोग, आठ ‘लेन’को निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको काम द्रुत गतिमा अघि बढाउन चीन सहमत भएको जानकारी पनि उनले दिए ।

“नेपालको प्राथमिकतानुसार तत्काल अनुदान सहायता परियोजना कार्यान्वयन गर्न र केही परियोजनाको सम्भाव्यता अध्ययनपछि बाँकी काम चाँडोभन्दा चाँडो थाल्न पनि चीन राजी भएको छ,” वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका अर्थसचिव शर्माले भने ।

काठमाडौँ र सिन्धुपाल्चोकमा परीक्षणका रुपमा बस्ती विकास र सुरक्षित आवास निर्माण आयोजना पनि अनुदान सहायताअन्तर्गत कार्यान्वयन गरिने अर्थसचिवले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्र पनि निर्माण गरिने छ ।

गत असार १० गते काठमाडौंमा सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा चीनले रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेअनुरुप अनुदान सहायता परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछन् ।
एक अर्ब नगद अनुदान उपलब्ध गराउने चिनियाँ घोषणा पनि सोही सहायता रकमअन्तर्गतको हो ।

वार्तापछि विपद्पछिको पुनःनिर्माण सहयोग परियोजनाको कार्ययोजना, रु एक अर्ब नगद सहयोग सम्झौता तथा भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै दुवै पक्षबीच आदानप्रदान भएको थियो ।

शरच्चन्द्र भण्डारी, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>