समाचारशुक्रबार, साउन ८, २०७२
बन्दका कारण जनजीवन प्रभावित, बन्दकर्ता पक्राउ

बन्दका क्रममा चन्द माओवादीले महाराजगञ्जमा निकालेको र्याली । तस्वीर: देवकी बिष्ट
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण बिहानैदेखि उपत्यकालगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ता नेकपा माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीमा सार्वजनिक सवारी साधन नचले पनि मोटरसाइकल बाक्लै चलेका छन् भने अन्य निजी गाडीहरु फाट्टफुट्ट चलेका छन् । भित्रि गल्लीका पसलहरु खुलेका छन् ।
बन्दका क्रममा नेकपा माओवादीका नेता तिलक परियार, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित हालसम्म ५२ जनालाई उपत्यका ठाउँठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी गराए । उनका अनुसार केही कार्यकर्ता पेट्रोलसहित पक्राउ परेका छन् ।
बन्दकर्ताले महाराजगन्ज चोकमा एउटा बस र गोङ्गबुमा दूधको गाडीमा तोडफोड गरेको प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
बन्दका कारण शैक्षिक संस्थामा पनि पठनपाठन हुन सकेन ।
हेटौँडा–बन्दको प्रभाव मकवानपुर जिल्लामा पनि परेको छ ।
हेटौँडाबाट काठमाडौँलगायत अन्य शहरमा जाने लामो दूरीको यातायात सेवा अवरुद्ध भएको छ । यसैगरी जिल्लामा विभिन्न स्थानीय यातायात सेवालाई पनि सो बन्दले अवरुद्ध तुल्याएको छ ।
बन्दले गर्दा हेटौँडाबजार, विद्यालय, कलेज, सङ्घसंस्था र औद्योगिक क्षेत्र बन्द भएका छन् ।
आयोजक कार्यकर्ताले बजारको विभिन्न भागमा बजार बन्द र तोडफोड गराउँदै हिँड्ने १० जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए ।
बनेपा–बन्दका कारण काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायतका भित्री बजारसमेत पूर्ण रुपले प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
दूध बोक्ने गाडी, एम्बुलेन्सबाहेक अन्य कुनै सवारी साधन सञ्चालन भएका छैनन् । यसैबीच प्रहरीले बनेपाबाट सातजना आन्दोलनकारीलाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार बेलुका मसाल जुलुस निकाल्ने क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
यस्तै बन्द गराउदै हिँड्ने नेकपा माओवादी चन्द समूहका ६ जना कार्यकर्ताहरु दोलखा सदरमुकाम चरिकोटमा पक्राउ परेका छन् ।
चितवनमा पनि बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताले भरतपुर उपमहानगरपालिका-११ मा गुडिरहेका ट्रक र बसमा तोडफोड गरेका छन् ।
माओवादीले संविधानसभाले जनविरोधी मस्यौदा पारित गरेको र भारत–चीन लिपुलेक सम्झौताले राष्ट्रिय स्वाधीनतामाथि ‘डरलाग्दो हस्तक्षेप गरेको’ भन्दै नेपाल बन्द घोषणा गरेको हो ।
