समाचारशुक्रबार, साउन ८, २०७२
चन्द माओवादीले स्कुल भ्यान र ट्रक जलायो

चन्द माओवादीका कार्यकर्ताले नेपालगञ्जमा जलाएको भारतीय स्कुल भ्यान । तस्वीर: केशव राना
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८ साउन बिहानै बाँकेमा २ वटा गाडीमा आगजनी गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै नेपालगञ्जमा भारतीय नम्बर प्लेटको युपी ४० टियु ७६३ नम्बरको भारतीय स्कुल भ्यानमा आगो लगाएको छ । भारतको रुपैडिहाबाट विद्यार्थी लिन नेपालगञ्ज आउँदै गरेको भ्यान माओवादीले जलाएको हो । नेपालगञ्जबाट भारतीय सीमा क्षेत्र रुपैडिहाका स्कुल–कलेजमा प्रशस्तै नेपाली विद्यार्थीहरु पढ्छन् ।
त्यसैगरी बाँकेकै खासकुस्मा– ४ सौरीखोलाको जंगलमा एक ट्रकमा माओवादी कार्यकर्ताले आगो लगाएका छन् । नारायणगढबाट सामान बोकेर दार्चुला जाँदै गरेको ना ५ ख ५०१४ नम्बरको ट्रकमा माओवादी कार्यकर्ताले आगजानी गरेको बाँके प्रहरीले जनाएको छ ।
माओवादीको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । यहाँबाट छुट्ने साना तथा ठूला सवारीसाधनहरु सञ्चालनमा आउन सकेका छैनन् ।
माओवादीले भारत र चिनबीच भएको लिपुलेक सम्झौताको खारेजी गर्नुपर्ने माग गर्दै बन्दको आह्वान गरेको हो ।
केशव राना, बाँके
