समाचारआइतबार, कार्तिक २६, २०६९
निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गराउँछः सिटौला र कोइराला
२६ कार्तिकमा नेविसंघले भारदहमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले भट्टराई नेतृत्वको सरकारलाई अबिलम्ब बिस्थापन गरी कांग्रेसको नेतृत्वमा सहतीय सरकार बन्ने दावी गरेका हुन् ।
“यो सरकारको बिस्थापन अबिलम्ब हुन्छ” महामन्त्री सिटौलाले भने, ‘‘यसपछि काँग्रेस नेतृत्वमा बन्ने सरकारले बैशाखमा संबिधानसभाको निर्वाचन गराउँछ ।’’ एकीकृत नेकपा माओवादी र मधेशी मोर्चा सम्मिलित वर्तमान सरकार राष्ट्रघाती भएको आरोप लगाउँदै सिटौलाले कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकमा साँचो परिवर्तन ल्याउने जिकिर गरे ।
लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षा कांग्रेसले नै गर्ने बताउँदै उनले जनताले पनि कांग्रेसकै पक्षमा रहेको विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शेखर कोइरालाले बर्तमान सरकारले नैतिकता गुमाएको आरोप लगाए । ‘‘आफैंले घोषणा गरेको निर्वाचन गराउन नसकेपछि उहाँले (बाबुराम भट्टराईले) राजीनामा दिनुपर्थ्यो, त्यसो नगरेर उहाँले नैतिकता गुमाउनुभएको छ,” कोइरालाले भने ।
उनले एमाओवादीलाई संघीयता बिरोधि रहेको भन्दै सत्ता कव्जा गर्न खोजेको आरोप समेत लगाए । सहमति बिना सरकारले बजेट ल्याउन नसक्ने बताउँदै कोइरालाले मुलुकमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न स्थानीय निकायको निर्वाचन गराउनु पनि जरुरी भएको धारणा राखे ।
कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले एमाओवादीकै कारण मुलुकमा समस्याहरु बढेको बताउँदै यो सरकारलाई परास्त गरी कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण तयार भइरहेको बताएका थिए । श्रवणकुमार देव, सप्तरी
