समाचारशनिबार, साउन ९, २०७२
पुनःनिर्माणमा जोन उड
एशिया र अफ्रिकाका १० देशमा रहेको ‘रुम टु रिड’ का संस्थापक जोड उड (५१) ले २० असारमा आयोजित ‘टेक द लिड’ कार्यक्रममा नेतृत्वकर्ताका गुण, चुनौती र तिनको समाधानबारे अनुभव सुनाए। ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ र ‘साक्षर संसारतिर’ पुस्तकका लेखक उडले आफ्नो पछिल्लो कृति नेता बन्न चाहनेका लागि उपयोगी हुने तर्क गरे।
सामाजिक अभियन्ता अनिल चित्रकार सहजकर्ता रहेको उक्त कार्यक्रममा उडले परियोजना साकार पार्न सामूहिक प्रयास महत्वपूर्ण हुने र त्यसका लागि बलियो नेतृत्व चाहिने बताए। “नेतृत्वलाई लक्ष्य प्रष्ट हुनुपर्छ”, उनी भन्छन्, “ऊ अहंकारी हुनुहुँदैन र सहकर्मीलाई हौसला दिन कन्जुस्याईं गर्नुहुँदैन।” स–सानो उपलब्धिलाई पनि उत्सवका रूपमा मनाए काममा थप ऊर्जा थपिने उनको सुझाव थियो।
सन् २००१ मा नेपालबाटै शुरु गरिएको ‘रुम टु रिड’ परियोजनाले अहिलेसम्म जम्मा १ हजार ९३० विद्यालय र १७ हजार ५३४ पुस्तकालय निर्माण गरिसकेको छ। १२ वैशाखको महाभूकम्पले रुम टु रिडले नेपालमा बनाएका विद्यालयका केही भवन भत्काइदिएको छ। उड भन्छन्, “कम्तीमा ६५ वटा विद्यालय पुनःनिर्माण गर्ने लक्ष्य छ। त्यसका लागि चन्दा संकलन गर्दैछु।”
