समाचारशनिबार, साउन ९, २०७२

बालक ‘बली’ दिने पाँच अभियुक्त पक्राउ

हिमालखबर

विद्रोही गिरी, नवलपरासी
नवलपरासीका एक बालक हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अभियुक्तहरुले बालकलाई ‘बली’ दिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

बालक हत्यका अभियुक्तहरुः कोदई हरिजन,रुदल हरिजन, सूर्यभान, गंगा हरिजन ।

बालक हत्यका अभियुक्तहरुः कोदई हरिजन,रुदल हरिजन, सूर्यभान, गंगा हरिजन ।

५ साउनदेखि बेपत्ता भएका नवलपरासीको कुडिया ४– का १० वर्षीय बालक सोनु भनिने जीवन कोहांरको हत्याको आरोपमा स्थानीय पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा ३५ बर्षीय कोदइ हरिजन, ४० वर्षीय झाँक्री (शोखा) गंगा हरिजन ५० वर्षीय रुदल हरिजन, २३ वर्षीय सूर्यभान हरिजन र विरामी भनिएका कोदइको छोरा १८ वर्षीय बिजय हरिजन रहेका छन् ।

छोरालाई ‘भुत’ सवार भई मान्छेको बली चाहियो भन्न थालेपछि छोरालाई सन्चो बनाउन आफूले छिमेकी बालकलाई बली दिएको प्रहरीलाई बयान दिइएका छन् ।

प्रहरीले गरेको पत्रकार सम्मेलनमा कोदाईको बयान यस्तो छः
“मंगलबार दिउँसो फेनहरा बजारबाट कपुर अगरबत्ति किनेर ल्याएँ, सोखा (झाँक्री) लाई बोलाएँ, सहयोगी रुदल र सूर्यभानलाई पनि बोलाएँ । घर नजिकै खेली रहेको बालकलाई विस्कुट दिएर बोलाएँ । ऊ खुशी भयो, मसँग हिंड ५० रुपैयाँ दिउँला भन्दै नोट देखाएँ ।

त्यसपछि बालकलाई गाउँ बाहिर सिमानामा पुर्याए । शोखाले पूजा गरि दिए । अक्षता छर्कि दिए । त्यसपछि रुदलले टाउको र हात समाते सूर्यभानले खुट्टा समाते । मैले उखु काट्ने गडासा (धारिलो हतियार) ले अगाडिबाट घांटी रेटिदिएँ ।

हत्या पछि पछुतो त लागेको छ, तर के गर्ने आफ्नो छोरालाई सन्चो बनाउनु थियो । त्यही केटालाई बली दिन्छु भन्ने सोचेको थिएन, तर त्यो बेला त्यही बालक फेला पर्यो । बालकका परिवारसँग कुनै दुश्मनी थिएन, उनीहरुले दुखसुखमा सघाउँदै आएका थिए ।

हत्यापछि सबैकुरा पत्नीलाई सुनाएँ । उसले मलाई गाली गर्न थाली तर, कसैलाई नभन्नु भनेर हप्काएँ । बली दिएको बालकका बाबुआमालाई बच्चा खोजिदिउँला भनेर सान्त्वना दिएर भारत गएँ । उताबाट फर्केपद्धि प्रहरीले पक्राउ गर्‍यो । गल्ति गरेको छु, अब जे सजाय हुन्छ, त्यो सहन्छु ।”

हत्या गरिएका बालकका हजुरबुवा परमाननद कोहारले ३ कक्षामा पढदै गरेको नातिलाई आँगन जोडिएको छिमेकीले बली चढाउलान भन्ने सपनामा पनि सोच्न नसकिने घटना भएको र आफूलाई असाध्यै पीडा भएको बताए ।

“विहान भुत चढदा उनीहरुले मान्छेको मासु चाहिन्छ भनेको सुनिएको थियो तर, आफ्नै भतिजो पर्छ भनेर के थाहा ?” बालकका काका लाल बहादुर कोहांरले भने ।

उनले भतिजो बेपत्ता भएपछि आफूलाई केही शंका लागेको र बालकको शव गाउँ नजिकै झाडीमा फेला परेपछि कोदाईकी पत्नीलाई दुई झापड लगाउँदै सोधेपछि उनले हत्या आफ्ना पति लगायतले हत्या गरेको स्वीकारेको बताए ।

बलि चढाएको कुरा खुलासा भए पछि आक्रोशित गाउँलेले अभियुक्त हरिजनको घर तोडफोड गरी भत्काइदिएका छन् ।

अहिले अभियुक्तका सबै परिवार प्रहरी नियन्त्रणमा रहेको र उनीहरुलाई गाउँ फर्कन समेत समस्या देखिएको छ । घटनामा संलग्न नभएकालाई गाउँमा बस्ने वातावरणका लागि पहल गर्न प्रहरी उपरीक्षक नल प्रसाद उपाध्यायले आग्रह गरेका छन् ।

प्रहरीले अभियुक्तहरुलाई कर्तब्य ज्यानमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>