समाचारआइतबार, साउन १०, २०७२
सहमतिमा चाँडो संविधानः एमाले
नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जनताबाट प्राप्त सुझाबलाई समेट्दै चाँडो संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
१० साउनबाट शुरु भएको पाँचौ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जनताले माग गरेकाले सकेसम्म यो विषय समेट्नुपर्ने नेतृत्वसँग माग राखेका थिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका सम्बन्धमा पार्टीको विशेष प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गर्दै लोकतान्त्रिक गणतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय विभेद्को अन्त्य र समृद्ध नेपालको परिकल्पनाजस्ता आधारभूत विषयमा पार्टीले आफ्ना अडान नछाड्ने जनाउँदै प्रत्यक्ष कार्यकारीको कार्यसूचीमा पनि सहमतिका लागि पहल गरिने बताए ।
एमाले केन्द्रीय सदस्य राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले प्रत्यक्ष कार्यकारीका विषयमा सहमति नभएमा वा त्यसलाई अड्काएर संविधान जारी गर्ने मिति पर सार्ने पक्षमा आपूmहरु नभएकाले त्यहीअनुसार भूमिका निर्वाह गर्ने अवगत गराए ।
अध्यक्ष ओलीले गत २५ जेठमा चार दलबीच संविधान जारी गर्ने विषयमा भएको राजनीतिक सहमतिबारे जानकारी गराउँदै सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने भएकाले सो सहमति गरिएको स्पष्ट पारे ।
उनले संविधानको मस्यौदामा आफ्ना सुझाव दिएर सर्वाेच्च अदालतले १६ बुँदे सहमतिको समर्थन गरिसकेको पनि बताए । बैठक आगामी १२ साउनमा पुनः बस्नेछ । रासस
