समाचारसोमबार, साउन ११, २०७२
‘प्रत्यक्ष निर्वाचित कार्यकारीकै कारण संविधान निर्माण प्रकृया रोकिदैन’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएपनि नभएपनि संविधान निर्माण कार्य नरोकिने बताएका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले जनताबाट आएको सुझावलाई कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको बताए । उनले भने, “कार्यकारी निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने जनताको सुझावबारे छलफल भइरहेको छ ।”
“राजनीतिक स्थिरता, आर्थिक समृद्धि र परिवर्तनलाई सम्बोधन गर्न प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचित हुनु सान्दर्भिक हुन्छ । देशभरिबाट सुझाव पनि आएको छ, यो विषय छलफलमै छ, सहमति भइसकेको छैन, तर हामी यही कारणले संविधान निर्माण प्रक्रिया रोक्ने छैनौँ, कुरा मिलेन भने पनि संविधान निर्माणलाई रोकेर फेरि बहस गर्नेतिर लाग्दैनौ”, दाहालले भने ।
उनले अधिकतम् सहमतिमा संविधान जारी हुने बताए । दाहालले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव आइसकेकाले सबैको चित्त बुझ्दो संविधान आउने बताए ।
