समाचारआइतबार, कार्तिक २६, २०६९
विपक्षीद्वारा सत्ता गठबन्धनले बोलाएको बैठक बहिस्कार
बजेटमा सहमति जुटाउनका लागि सत्ता गठबन्धन मोर्चाका संयोजक समेत रहेका अध्यक्ष दाहालले २६ कार्तिक साँझ प्रमुख विपक्षीदलहरुलाई छलफलका लागि बोलाएका थिए ।
“सत्ता पक्ष आफूले ल्याउने बजेटमा सहमत गराउने विषयमामात्रै छलफल गर्ने भएकोले हामी बैठकमा जानु उपयुक्त देखिएन,” एमाले नेता प्रदीप ज्ञवालीले हिमाल खबरलाई भने, “सरकार निर्माण, आगामी निर्वाचन र संवैधानिक अडचनलगायत समग्र विषयमा छलफल गरौं भन्ने हाम्रो प्रस्ताव थियो ।”
सत्ता पक्ष अहिले बजेट पारित गराएर आफ्नो आयु लम्बाउने मनासयमा रहेकोले बैठकमा जानुको कुनै अर्थ नभएको ज्ञवालीले वताए । उनले भने, “जसरी तसरी बजेट पास गराएर सत्ता लम्बाउने खेलमा छन् उनीहरु ।”
विपक्षीहरुले राजनीतिक सहमतिको नयाँ सरकार गठन गरेपछि मात्रै त्यही सरकारले बजेट ल्याउने र निर्वाचन पनि गराउने निर्णय गरिसकेकोले अहिलेको सरकारले ल्याउने बजेटमा सहमति जनाउन बैठकमा सहभागी नभएको ज्ञवालीले जानकारी दिए ।
सत्ता गठबन्धनले सहमति नभए पनि २७ कार्तिकमा बजेट अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने जनाइसकेको छ ।
