समाचारमंगलबार, साउन १२, २०७२
पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ–बुटवल सडक खण्ड अन्तरगत गैंडाकोटको जयश्री पुल भाँचिदा हजारौं यात्रुले सडकमा रात बिताएका छन् ।
११ साउन साँझ पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको हो । पूर्वबाट पश्चिम जाने सवारी साधनहरु गैंडाकोटमा रोकिएका छन् भने पश्चिमबाट पूर्व जाने सवारी साधनहरु गैंडाकोटको थुम्सी, कावासोती, चोरमारा, बर्दघाट सुनवलमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ट्रिपर र ट्रकले एकैसाथ बाटो पार गर्न खोज्ने क्रममा पुल भाँचिएको स्थानीयबासीले बताएका छन् । दायाँ बायाँ रहेका फलामका पाताहरु भाँचिएर पुल करिब पाँच फिट तल धसिएको छ ।
यस अगाडि पनि भाँचिएको पुलको सही मर्मत नहुँदा पुल पुनः भाँचिएको हो । पुल भाँचिएपछि पूर्व पश्चिम यात्रा गर्ने यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । भाँचिएको पुल नजिकैबाट बैकल्पिक सडक ( डाइभर्सन) बनाउन २४ घण्टा लाग्ने डिभिजन सडक कार्याल बुटवलले जनाएको छ ।
“भाँचिएको पुलको केही तलबाट डाइभर्सन गरेर यातायात सञ्चालन गर्ने तयारीमा जुटेका छौँ” डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर बिष्णु खनालले भने, “डाइभर्सनको लागि चाहिने पाइप तथा जालीहरुको माग भैसकेको छ । मंगलबार बेलुका सम्म डाइभर्सन बन्छ,” उनले भने ।
डाइभर्सन बनाउनुपर्र्ने भाग गहिरो भएकाले केही समय लाग्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।
यता पानी परेकाले सडकमा रहेका यात्रुहरु मर्कामा परेमा छन् । यात्रुहरु एकै ठाउँमा जम्मा हुदा समस्या हुने भएकाले चोरमारा, कावासोती, सुनवलमै गाडीहरु रोकिएका छन् । खास गरी प्रहरीको सक्रियतामा लोड गाडीहरु यसरी रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
