समाचारमंगलबार, साउन १२, २०७२

प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा ओलीको विशेष प्रस्ताव (पूर्णपाठ सहित)

हिमालखबर

uml_oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका लागि अधिकतम प्रयत्न गरिने उल्लेख गरेका छन् ।

ओलीको प्रस्तावमा भनिएको छ, “प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री)को व्यवस्था हाम्रो पार्टीले दुवै निर्वाचनको घोषणापत्रमा आधिकारिक रूपमा नै अगाडि सारेको थियो । हामीले यसका पक्षमा अन्य दललाई सहमत गराउन अधिकतम प्रयत्न पनि गरेका थियौँ तर यसो गर्नु सम्भव नभएपछि संविधान बनाउने मूल्यमा हामीले यस विषयलाई स्थगन गरेका थियौँ । राष्ट्रव्यापी रूपमा प्राप्त सुझावहरूले हामीलाई उत्साहित तुल्याएको छ ।”

उक्त प्रस्तावमाथि बैठकमा छलफल जारी रहने एमालेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । बैठक ९ साउनदेखि शुरु भएको थियो ।

प्रस्तावमा विगतमा अगाडि सारिएका कतिपय त्रुटिपूर्ण प्रस्तावलाई सच्याउँदै सन्तुलित र देशको अधिकतम हित हुने गरी सङ्घीय ढाँचा निर्धारण गर्ने अवसर आएको भनिएको छ ।

ओलीले धर्म व्यक्तिको निजी आस्थाको विषय भएकाले लोकतान्त्रिक प्रणालीमा राज्यले धर्म विशेषलाई अवलम्बन गर्न नहुने भन्दै राज्य धार्मिक मामिलामा तटस्थ रहनुपर्ने र सबै धर्म-धर्मावलम्बीहरूप्रति समभाव राख्नुपर्ने बताएका छन् ।

पछिल्लो समय जबर्जस्ती धर्म परिवर्तन, निश्चित समुदायका धार्मिक आस्थामाथि आँच पुर्‍याउने प्रयास र आफ्ना मौलिक मूल्य मान्यताहरू कमजोर पारिँदै लगिएको अनुभूतिले समाजलाई संवेदनशील बनाएको स्पष्ट देखिएकाले धर्मको नाममा कुनै पनि पक्षले राजनीति गर्न नपाओस् र जनताको धार्मिक आस्था विवादमा पार्ने काम नहोस् भन्ने कुरामा सतर्क रहनुपर्नेमा पनि ओलीले जोड दिएका छन् ।

चार दलबीचको १६ बुँदे सहमतिको विषयलाई लिएर सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशका सन्दर्भमा प्रतिवेदनमा भनिएको छ, “संविधान निर्माणको यस ऐतिहासिक, संवेदनशील र निर्णायक घडीमा राज्यका सबै अङ्गले शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण र सन्तुलनको मान्यतालाई आत्मसात् गर्दै संयमित, सन्तुलित र सुझबुझपूर्ण भूमिका खेल्न पनि हामी पुनः आग्रह गर्दछौँ ।”

विशेष प्रस्तावकाे पूर्ण पाठ

१. संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको चीरप्रतिक्षित सपना पूरा हुने बिन्दुमा आइपुगेको छ । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट प्राप्त रायसुझावलाई समेटेर मस्यौदा परिमार्जन गरिसकेपछि यसले नेपालको संविधान– २०७२ को विधेयकको स्वरूप ग्रहण गर्नेछ र संविधानसभामा हुने विभिन्न प्रक्रियागत चरण पूरा गरेपछि संविधान जारी हुनेछ ।

आवश्यक सबै प्रक्रिया पूरा गरेर २०७२ साउन मसान्तभित्रै संविधान जारी गर्न प्रमुख राजनीतिक दलहरूबीच सघन छलफल चलिरहेको छ । जनताको सङ्घर्ष र क्रान्तिबाट प्राप्त उपलव्धिहरूलाई संस्थागत गरेर मुलुकलाई राजनीतिक स्थायित्व, दिगो शान्ति, लोकतन्त्र, सामाजिक न्याय, सबल राष्ट्रिय एकता र समृद्धिको दिशामा अगाडि बढाउने महत्वपूर्ण पूर्वाधारको रूपमा रहेको संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन जनताको प्रतिनिधि पार्टीको रूपमा नेकपा ९एमाले० आफ्नो सम्पूर्ण उर्जा, सामथ्र्य र समय केन्द्रित गर्न प्रतिवद्ध छ ।

२. संविधान जारी गर्न नसकी पहिलो संविधानसभाको विघटन भएदेखि नै हाम्रो पार्टीले संविधानसभाको नयाँ निर्वाचन मार्फत् राजनीतिक सङ्कटको समाधान खोज्न र संविधानसभाबाटै संविधान निर्माण गर्न पहल गर्दै आएको तथ्य सर्वविदितै छ । संविधानसभाको दोस्रो निर्वाचनका क्रममा जारी घोषणापत्रमा पार्टीले एक बर्षमा संविधान निर्माण गर्ने सङ्कल्प गरेको थियो र गत वर्ष सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले पनि निर्धारित समयमा संविधान निर्माण गर्ने बिषयलाई सर्वोच्च प्राथमिकताको कार्यभार निर्धारण गरेको थियो ।

संविधानसभाको साझा सङ्कल्प अनुरूप २०७१ माघ ८ गतेभित्रै संविधान जारी गर्न यस अवधिमा पार्टीले अथक, रचनात्मक र सार्थक पहल र प्रयाश गर्दै आयो । तर मुख्यतः सङ्घीयताका प्रश्नमा दलहरूबीच सहमति कायम हुन नसकेपछि र त्यसलाई रूपान्तरित संसदबाट टुङ्गो लगाउने गरी संविधान जारी गर्न हाम्रो पार्टीले अगाडि सारेको उपयुक्त प्रस्तावमा अरुहरूको सहमति प्राप्त नभएपछि निर्धारित मितिमा संविधान जारी हुन सकेन ।

उल्टो, दलहरूबीच तिक्तता, अविश्वास र ध्रुवीकरण बढ्दै गएर संविधानसभामा तोडफोड र सडकमा उग्र प्रदर्शन हुने स्थिति पैदा भयो । त्यस्तो प्रतिकूल स्थितिमा पनि हाम्रो पार्टीले एकातिर संविधानसभाको प्रक्रिया बहिष्कार गरेर सडक आन्दोलनमा उत्रिएका प्रतिपक्षी दलहरूलाई संवादमा फर्काउन र संविधान निर्माणमा सहभागी बनाउन निरन्तर प्रयत्न गरिरह्यो भने अर्कातिर दोस्रो संविधानसभालाई कुनै पनि अर्थमा असफल हुन नदिने र प्रक्रियाका माध्यमबाट भए पनि संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरिरह्यो ।

पार्टीले जातीय एवं सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनताको आधारभूत हितमा कुनै सम्झौता नगर्ने अविचलित अडान लिंदै संविधान निर्माणमा उत्पन्न प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्न निरन्तर प्रयाश गर्दै आयो ।

३.  यस्तै पृष्ठभूमिमा, गतः बैशाख १२ गते आएको विनाशकारी भूकम्पले मुलुकलाई अकल्पनीय विपत्तिमा धकेलिदियो । नौ हजारभन्दा बढीको मृत्यु, बीसौं हजार घाइते र अङ्गभङ्ग, ४० लाख नागरिकहरू वेघरबार, राज्यका मुख्य संरचना र राष्ट्रिय गौरवका रूपमा रहेका ऐतिहासिक–सांस्कृतिक धरोहरहरूको विनाशका कारण मुलुक अभूतपूर्व सङ्कटमा फँस्यो ।

यस्तो सङ्कटका बेला पीडित जनताले उद्धार, राहत र पुनस्र्थापनाको काममा राज्यको प्रभावकारी उपस्थिति खोज्नु स्वाभाविकै थियो । तर, विपद्को पूर्व तयारीको अभाव, विपद्को व्यवस्थापनमा रहेका कमजोरी र वाह्य सहयोगमा समन्वयको कमी जस्ता बिषयले सुरुका दिनहरूमा पीडित जनतामा असन्तुष्टि पैदा भए ।

यस्ता असन्तुष्टिलाई लोकतान्त्रिक प्रणाली, राजनीतिक दलहरू र नेतृत्वकै विरुद्ध उछाल्ने प्रयाश भए र वाह्य सहयोगका नाममा नेपालीहरूको पीडा र स्वाभिमानलाई होच्याउने कोशिस पनि देखा पर्‍यो । यद्यपि, नेपालले भोग्नुपरेको अकल्पनीय विपत्तिका बीचमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यवद्धता, सद्भाव र सहयोगले हामीलाई ठूलो भरोसा दिलायो ।

यस्तो स्थितिमा, दलहरूबीच नयाँ उचाइँबाट राजनीतिक समझदारी निर्माण गर्दै विपद् व्यवस्थापनका माध्यमबाट राष्ट्रको मनोबल बलियो बनाउने र जनतामा आत्मविश्वास विकास गर्ने अपरिहार्य आवश्यकता पैदा भयो ।

४.  विनाशकारी भूकम्पको तत्कालदेखि नै उद्धार, राहत र पुनस्र्थापनाको काममा केन्द्रित भएको हाम्रो पार्टीले विपत्तिलाई सामना गर्दै राष्ट्रलाई नयाँ जगबाट उठाउन पहल सुरु गर्‍यो । सरकारलाई उद्धार र राहतमा प्रभावकारी ढङ्गले अगाडि बढ्न घचघच्याउने, राष्ट्रिय विपत्तिसम्बन्धमा साझा दृष्टिकोण निर्माण गर्न व्यवस्थापिका–संसदको अधिवेशन बोलाउन पहल गर्ने, उद्धार, राहत र पुनस्र्थापनाका सम्बन्धमा विशेष अवधारणा प्रस्तुत गर्ने र सिङ्गो पार्टी पङ्क्तिलाई पीडितहरूको सेवामा स्वयंसेवी अभियानमा परिचालित गर्ने काम अगाडि बढाइयो ।

व्यवस्थापिका–संसदबाट पारित साझा सङ्कल्प, राष्ट्रव्यापी रूपमा सञ्चालित स्वयंसेवक परिचालन अभियान र अन्तर्राष्ट्रिय दातृसम्मेलनमा प्रकट नेपालप्रतिको ऐक्यवद्धता, सहयोग र समर्थनले नेपाललाई विपत्तिको सामना गर्दै अगाडि बढ्न ठूलो सहयोग पुगेको छ ।

यसबीच, अवरुद्ध प्रक्रियालाई सुचारु गर्दै संविधान निर्माणको कामलाई निष्कर्षमा पुर्‍याउन पार्टीले गम्भीर पहल सुरु गर्‍यो । सडक आन्दोलनको असफलता, संविधान निर्माणका लागि व्यापक जनदबाब र भूकम्पले सिर्जना गरेको सङ्कटपूर्ण अवस्थाले हिजो विरोधमा रहेका दलहरूलाई पनि संविधान निर्माणमा नयाँ ढङ्गले सहभागी हुन वाध्यकारी अवस्था सिर्जना गरिदिएको थियो । भूकम्पले ध्वस्त बनाएको मुलुकको पुननिर्माण र संविधान निर्माण– यी दुई राष्ट्रिय कार्यभारलाई सँगसँगै अगाडि लैजान पार्टीले गम्भीर प्रयाश अगाडि बढायो ।

५. यसै पृष्ठभूमिमा, लामो आरोह–अवरोह, दलहरूबीचको तिक्तता र जनतामा फैलिएको निराशालाई चिर्दै राष्ट्रिय राजनीतिका मुख्य शक्तिहरू– नेकपा (एमाले), नेपाली काङ्ग्रेस, एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच गतः जेठ २५ गते ऐतिहासिक १६ बुँदे सहमति भएको छ । यो सहमति धेरै अर्थमा ऐतिहासिक र दूरगामी महत्वको छ ।

यसले संविधान बन्न नदिएर मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने षडयन्त्रलाई विफल पार्दै जनतामा सकारात्मक विश्वास सिर्जना गर्न ठूलो भूमिका खेलेको छ । लामो समयदेखि अवरुद्ध संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउने ढोका खोलिदिएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने झण्डै ९० प्रतिशत सभासद् र मुख्य दलका बीचमा फराकिलो र आधारभूत सहमति निर्माण गरेको छ ।

विगतमा अगाडि सारिएका कतिपय त्रुटिपूर्ण प्रस्तावलाई सच्याउँदै सन्तुलित र देशको अधिकतम हित हुने गरी सङ्घीय ढाँचा निर्धारण गर्ने अवसर प्रदान गरेको छ । मुख्य राजनीतिक दलहरूले आफ्नै सुझबुझ र स्वविवेकका आधारमा गरेको यस सहमतिले राजनीतिक नेतृत्वप्रतिको विश्वासलाई अभिवृद्धि गर्न पनि मद्दत गरेको छ ।

६. त्यही सहमतिमाथि आधारित भएर संविधानसभाबाट विभिन्न प्रक्रियागत चरणहरू पार गर्दै संविधानभाको पहिलो मस्यौदा तयार गरिएको छ । संविधानको मस्यौदा जनतासमक्ष पुग्नु संविधान बन्ने कुराको प्रत्याभूति हो । यो संविधान निर्माणमा जनताको सहभागिता एवं अपनत्व सुनिश्चित गर्ने उच्च लोकतान्त्रिक विधि पनि हो ।

७.  संविधान मुलुकको तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्ताबेज हो । नेपाली राजनीतिमा परिवर्तनकारी लोकतान्त्रिक शक्तिका अतिरिक्त अनेकौं धार र प्रवृत्तिहरू पनि विद्यमान छन् । यसको प्रतिबिम्ब संविधानसभामा पनि छ र संविधानसभाको शक्ति संरचना तदनुरूप निर्माण भएको छ ।

आमरूपमा लोकतान्त्रिक शक्तिहरूको बाहुल्य भए पनि राजनीतिक र सामाजिक–आर्थिक प्रश्नमा विभिन्न वर्ग दृष्टिकोण, लक्ष्य, उद्देश्य, विचार र हितका मतभिन्नताहरू छन् । आम नेपाली जनता र परिवर्तनकारी लोकतान्त्रिक शक्तिको प्रतिनिधिका रूपमा नेकपा (एमाले) ले संविधान निर्माणमा सक्रिय, प्रभावकारी र नेतृत्वदायी भूमिका खेलिरहेको छ । तर विरोधाभाष के छ भने सङ्ख्याका हिसाबले हामीहरू एक तिहाई भन्दा कम छौं । विभिन्न पक्षलाई मिलाउनु पर्ने आवश्यकताका कारण कतिपय बिषयमा सम्झौताहरू गरिएका छन् ।

यसले गर्दा संविधानको प्रारम्भिक मस्यौदामा कतिपय कमीकमजोरी र सङ्गति नमिलेका पक्षहरू पनि रहेका छन् । संविधान निर्माणको क्रममा विगतमा गरिएका कतिपय सहमति–समझदारी तथा विगत संविधानसभाका विभिन्न समिति, उपसमितिहरूले गरेका कामहरूलाई समेत संयोजन गर्ने क्रममा कतिपय अस्पष्टताहरू रहेका छन् । मस्यौदाको मूल्याङ्कन गरिरहँदा संविधान निर्माणको विगत पृष्ठभूमि र विद्यमान शक्ति सन्तुलनलाई हेक्का राख्नु आवश्यक छ ।

८.  तर, प्रस्तावित संविधान आधारभूत रूपमा अग्रगामी, लोकतान्त्रिक, परिवर्तनमुखी र राष्ट्र तथा जनताको पक्षमा छ भन्ने कुरामा भने कुनै सन्देह छैन । संविधानसभाको विद्यमान शक्तिसन्तुलनका बीचमा संविधानलाई यस रूपमा प्रस्तुत गर्न सकिनु आफैमा ऐतिहासिक उपलव्धि हो । उपलव्धि र सकारात्मक बिषयलाई सम्वद्र्धन गर्न र रहन गएका कमीकमजोरीलाई सुधार गर्न आगामी दिनमा पनि निरन्तर प्रयाश हुने नै छ । प्रस्तावित संविधानका मुख्य बिशेषताहरूलाई यसरी उल्लेख गर्न सकिन्छस्

क) संविधानले नेपाली जनताको युगौं लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गरेको छ । जनतामा निहित सार्वभौमसत्ताको साँचो अर्थमा प्रत्याभूति हुने, नागरिकका रूपमा गरिमा अभिवृद्धि गर्ने र जनताको सर्वोच्चताको पुनःपुष्टि गर्ने गणतन्त्रको संस्थागत सुदृढीकरण स्वयंमा ऐतिहासिक उपलव्धि हो ।

ख)  संविधानले हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गर्नुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रता लगायत स्वतन्त्रता र समानताका आधारभूत नागरिक हकहरूको प्रत्याभूति गरेको छ । लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरूलाई आत्मसात गर्दै व्यक्तिगत स्वतन्त्रता, बहुदलीय प्रतिष्पर्धात्मक शासन व्यवस्था, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र जनतामा निहित सार्वभौमसत्ता जस्ता महत्वपूर्ण बिषयको पुनःपुष्टि गरेको छ ।

ग) संविधानले सबै खालका विभेद र उत्पीडनबाट समाजलाई मुक्त गर्दै सबैलाई समान सम्मान, बराबरी अधिकार, समान अवसर र बराबरी सुरक्षा प्रदान गर्ने आधार निर्माण गरेको छ । संविधानले निर्दिष्ट गरेको बाटोमा अगाडि बढ्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि ढोका खुलेको छ । यसका लागि धार्मिक स्वतन्त्रता, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नीति, सबै खाले सामन्ती र पितृसत्तात्मक उत्पीडनको अन्त्य, जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइने जस्ता विशेष व्यवस्थाहरू गरिएका छन् ।

घ)  संविधानको मस्यौदामा नेपालको इतिहासमा पहिलोपल्ट सामाजिक न्यायको मान्यतालाई संवैधानिक रूपले सुनिश्चित गरिएको छ । जनतालाई नागरिक–राजनीतिक अधिकारहरूमात्रै होइन, आर्थिक–सामाजिक–सांस्कृतिक अधिकारको पनि प्रत्याभूति गरिएको छ । माध्यमिक तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीमा पहुँच, कोही पनि खाद्यान्नको अभावमा भोकै मर्न नपर्ने गरी खाद्य अधिकार र खाद्य सम्प्रभुता, आवासमा पहुँच र स्वच्छ वातावरणको हक जस्ता बिषयहरू मस्यौदाका मुख्य विशेषताका रूपमा रहेका छन् ।

ङ)  अत्यधिक केन्द्रिकृत राज्यका अधिकार स्थानीय तहसम्मै स्थापित गर्न, स्थानीय तहबाटै जनताको स्वशासनको अभ्यास गर्न र समाजका विविधता र पहिचानलाई राज्यमा प्रतिबिम्बित गर्न सङ्घीयतामा जाने निर्णय विगतमा नै भइसकेको यथार्थ स्पष्ट नै छ । संविधानमै सूचीकृत अधिकारको अभ्यास गर्ने गरी सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सङ्घीय संरचनाको प्रबन्ध गरिएको छ । पहिचान र सामथ्र्यका आधारमा बन्ने ८ वटा प्रदेशहरू बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त हुने सुनिश्चित गरिएको छ ।

स्थानीय सरकारहरू आफ्नो स्थानमा सशक्त र प्रभावकारी हुने आधार तयार गरिएको छ । सङ्घीय आयोगको सिफारिसका आधारमा प्रदेशको सीमाङ्कन हुने र प्रदेशसभाले नै नामाङ्कनको टुङ्गो गर्ने व्यवस्था गरिएको छ ।

च)  सामन्ती राज्यव्यवस्था र विभेदकारी शासन प्रणालीका कारण राज्यका विभिन्न अङ्गहरूमा महिला, दलित, आदिवासी जनजाति, लोपोन्मुख, तराईबासी–मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत, अल्पसङ्ख्यक र अन्य पछाडि परेका समुदायको न्यायोचित प्रतिनिधित्व हुन नसकेको यथार्थलाई मनन गर्दै संविधानले समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ ।

अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको परिभाषा गर्दै उनीहरूलाई आफ्नो सरोकारका एवं आफूलाई प्रभावित पार्ने नीति निर्माणमा सहभागी हुने, सांस्कृतिक सम्पदा, परम्परागत शीप, भाषा, लिपी र धर्मको संरक्षण गर्ने तथा भूमि र प्राकृतिक स्रोतको उपयोग, राज्यका संरचनामा प्रतिनिधित्व लगायतमा विशेष अधिकार पाउने व्यवस्था गरिएको छ । राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरिएको छ ।

छ)  मस्यौदा संविधानले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै नेपालीको स्वाभीमान उँचो राख्ने मार्ग अवलम्बन गरेको छ । राष्ट्रिय हितका मुख्य बिषयलाई सूत्रीकृत गरेको छ । सामाजिक सद्भावसहितको राष्ट्रिय एकताका लागि आधार निर्माण गरेको छ ।

ज) हाम्रो अथक प्रयाशका फलःस्वरूप संविधानमा नेपालको भावी गन्तव्य समाजवाद हो भन्ने कुरा स्पष्ट पारिएको छ । सामन्तवादका अवशेषहरूको उन्मूलन गर्ने, वैज्ञानिक भूमिसुधार गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई मजबुत पार्ने, प्रगतिशील कर प्रणाली अवलम्बन गर्ने, श्रमजीवी वर्गको हित प्रवद्र्धन गर्ने र सार्वजनिक, सहकारी र निजी गरी अर्थतन्त्रका तीनवटा खम्बाको सहकार्य र समन्वयका आधारमा समाजवादको आधार निर्माण गर्ने कुराको प्रबन्ध गरिएको छ ।

सामन्तवादको अन्त्य हुनु र राष्ट्रको समाजवादी भविष्य तय गरिनु श्रमजीवी जनताको पक्षमा भएको निकै महत्वपूर्ण उपलव्धि हो ।

झ)  संविधानले जेष्ठ नागरिक, बालबालिका, श्रमिकहरू, अपाङ्गता भएका व्यक्ति लगायत समाजका जोखिमपूर्ण अवस्थामा रहेका समूहका लागि सामाजिक सुरक्षाको प्रवन्ध गरिएको छ ।

ञ)  नयाँ संविधानको निर्माण प्रक्रिया र प्रस्तावित संविधानका अग्रगामी र लोकतान्त्रिक अन्तरवस्तुहरूले दिगो शान्तिका आधार निर्माण गरेका छन् । लोकतन्त्रलाई मूलधारका रूपमा स्थापित गरेका छन् । विभिन्न सामाजिक र राजनीतिक द्वन्द्वका कारकहरूको निराकरण गर्दै सबै खाले असहमति, विरोध या असन्तुष्टिहरूलाई संविधानले निर्दिष्ट गरेको शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै समाधान गर्न सकिने आधार तयार भएको छ ।

ट)  महिलाका लागि बिना विभेद समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक, धर्म, परम्परा या संस्कारका नाममा गरिने सबै खाले हिंसाजन्य कार्य र शोषण दण्डनीय र राज्य संयन्त्रका सबै निकायमा समानुपातिक सहभागिताको हक सुनिश्चित गरिएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदको हक र बिबाह, सम्बन्ध विच्छेद र पारिवारिक मामलामा दम्पत्तिको समान हक जस्ता कुरा स्थापित भएका छन् । आमाको नाममा नागरिकता प्राप्त गर्न सकिने संवैधानिक प्रबन्ध गरिएको छ । राष्ट्रिय महिला आयोगलाई संवैधानिक हैसियत प्रदान गरिएको छ ।

ठ)  छुवाछुत र भेदभावलाई सामाजिक अपराधको रूपमा दण्डनीय बनाउँदै दलितलाई राज्यका सबै अङ्गमा न्यायोचित सहभागिताको प्रबन्ध गरिएको छ । निशुल्क शिक्षा, सामाजिक सुरक्षा, परम्परागत पेशा र शीपको संरक्षण र विकास, भूमिहीन दलितलाई जमीन र आवासको व्यवस्था जस्ता बिषयमार्फत् दलितमाथिको उत्पीडनलाई अन्त्य गर्ने बिषय संविधानमा प्रत्याभूत गरिएको छ । राष्ट्रिय दलित आयोगको व्यवस्था गरिएको छ ।

ड) राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि उक्त नीति र कार्यक्रमको कार्यान्वयन प्रतिवेदन सरकारले राष्ट्रपति मार्फत् प्रत्येक बर्ष संसदमा प्रस्तुत गर्नुपर्ने र संसदले त्यसको अनुगमन गर्न समिति बनाएर काम गर्ने प्रवन्ध गरिएको छ ।

ढ)  सबै नेपाली नागरिकहरूले सहजतापूर्वक र बिना भेदभाव नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गर्दै एकल सङ्घीय नागरिकताको प्रवन्ध र नागरिकतामा रहेको लैङ्गिक विभेद अन्त्य गरिएको छ । गैर आवासीय नेपाली नागरिकता पत्र सम्बन्धी नयाँ व्यवस्था गरिएको छ ।

ण)  स्वतन्त्र न्यायपालिकाको मान्यतालाई स्थापित गरिएको छ । संविधानको व्याख्याताको रूपमा सर्वोच्च अदालत र सङ्घीय इकाइहरूबीचको विवाद समाधानका लागि दस बर्षसम्म संवैधानिक अदालतको व्यवस्था प्रस्तावित गरिएको छ । न्यायाधीशहरूको नियुक्ति र बर्खास्तगीका लागि स्वतन्त्र संरचनाको प्रवन्ध गरिएको छ ।

त)  सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका अधिकारहरूको सूचीको व्यवस्था गर्दै उनीहरूबीच आर्थिक स्रोतको न्यायोचित बाँडफाँड गर्न यसका अधिकारसम्पन्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको व्यवस्था गरिएको छ । प्राकृतिक स्रोतको समन्यायिक वितरणको सिद्धान्तलाई आत्मसात गर्दै एक प्रदेशबाट अर्कोमा सेवा या वस्तुको निर्वाध आवागमनको प्रत्याभूति गरिएको छ ।

थ)  छिमेकी मित्र राष्ट्रहरूको सम्बन्धलाई विशेष जोड दिंदै सन्तुलित, जिम्मेवार र नेपालको राष्ट्रिय हितमाथि आधारित अन्तर्राष्ट्रिय सम्बन्धका लागि संविधानको मस्यौदाले मार्गदर्शन गरेको छ ।

द)  संविधानले पहिलोपल्ट अधिकार प्राप्तिमात्रै होइन, कर्तव्य निर्वाह गर्ने प्रवृत्तिको विकास गर्न आवश्यक छ भन्ने मान्यताका आधारमा नागरिकका मौलिक कर्तव्यहरू समावेश गरेको छ ।
राष्ट्रपति निष्ठावान हुँदै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्नु, राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु र संविधान र कानुनको पालना गर्नु नागरिक कत्र्तव्यका रूपमा उल्लेख गरिएका छन् ।

९.  यद्यपि, संविधानको प्रारम्भिक मस्यौदामा कतिपय कमीहरू पनि रहन गएका छन् । भाषिक दृष्टिले यसलाई छरितो, आकर्षक, गहकिलो र स्पष्ट पार्नु पर्ने खाँचो छ । राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न न्यूनतम मतसीमा (थ्रेसहोल्ड) को व्यवस्था, संवैधानिक अङ्गका पदाधिकारीहरूको पुनर्नियुक्ति, समानुपातिक निर्वाचनलाई सरल बनाउने बिषय, वडाअध्यक्षको प्रत्यक्ष निर्वाचन, नागरिकतामा लैङ्गिक समानता, मुलुकको संवेदनशील भूराजनीति र जनसङ्ख्या बहन क्षमतालाई ध्यानमा राख्दै नागरिकतासम्बन्धी प्रावधानमा थप स्पष्टता लगायत कतिपय बिषयमा थप व्याख्या र सुधार गर्नु पर्ने आवश्यकता हामीलाई सुरुदेखि नै वोध हुँदै आएको छ ।

महिला, दलित र सञ्चारकर्मीहरूका तर्फबाट उठिरहेका आवाजहरू मननीय छन् । संविधानको मुख्य सार नै सबै खाले विभेदहरूको अन्त्य, समान अधिकारको प्रत्याभूति र पछाडि परेका समुदायको उत्थानका लागि विशेष व्यवस्था हो ।

लोकतन्त्र यस संविधानको मुख्य चारित्रिक विशेषता हो र प्रेस स्वतन्त्रता लोकतन्त्रको पूर्वशर्त हो । संविधानको प्रस्तावनाले नै यस बिषयलाई दिशा निर्दिष्ट गरेको छ । यी भावना र मर्मसँग मेल नखाने शव्द, वाक्यांश या प्रावधानहरू संविधानले अन्तिम रूप प्राप्त गर्ने अवस्थासम्म स्पष्ट पारिनेछन् ।

१०.  यसबीचमा, संविधानको प्रारम्भिक मस्यौदामाथि साउन ४ र ५ गते देशव्यापीरूपमा रायसुझाव र जनताको अभिमत सङ्कलन गर्ने काम सम्पन्न भएको छ । छोटो समयसीमा, प्रतिकूल मौसम, भूकम्पपछिको असहज जनजीवन, कतिपय दल र पक्षबाट खडा गरिएको व्यवधान र बन्द हडतालका बीचमा पनि जसरी लाखौं जनता यस प्रक्रियामा सहभागी भएका छन्, यो अन्त्यन्तै उत्साहप्रद, सकारात्मक र प्रेरणादायी बिषय रहेको छ ।

यसले जनताका प्रतिनिधिहरूले, जनताकै सहभागितामा, जनताकै भावना अनुरूपको ‘हाम्रो संविधानःराम्रो संविधान’ निर्माण गर्न ठूलो मद्दत पुर्‍याएको छ । यसले नेपाली जनता छिटोभन्दा छिटो संविधान निर्माण गर्न चाहन्छन् र त्यसमा आफ्नो भावना प्रतिविम्बित भएको देख्न चाहन्छन् भन्ने पुष्टि गरेको छ ।

संविधान निर्माणमा वाधा पुर्याउन चाहनेहरूको दुराशय उजागर भएको छ र उनीहरू जनताबाट एक्लिएका छन् । उत्साहपूर्ण सहभागिता र रचनात्मक सुझावहरूका लागि हामी जनताप्रति आभारी छौं ।

११.  रायसुझाव दिने जनताको अत्यधिक ठूलो हिस्साले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने, प्रदेशहरूको सङ्ख्या सानो र भौगोलिक विविधतालाई समेट्ने खालेको हुनु पर्ने, धार्मिक स्वतन्त्रताको व्यवस्था स्पष्ट गरिनु पर्ने लगायतका बिषयमा अभिमत दिएका छन् ।

यी सुझावहरू महत्वपूर्ण छन् र यिनले धेरै हदसम्म जनभावनाको प्रतिनिधित्व गर्छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री)को व्यवस्था हाम्रो पार्टीले दुबै निर्वाचनको घोषणापत्रमा आधिकारिक रूपमा नै अगाडि सारेको थियो ।

हामीले यसका पक्षमा अन्य दलहरूलाई सहमत गराउन अधिकतम प्रयत्न पनि गरेका थियौं । तर यसो गर्नु संभव नभएपछि संविधान बनाउने मूल्यमा हामीले यस बिषयलाई स्थगन गरेका थियौं । राष्ट्रव्यापी रूपमा प्राप्त सुझावहरूले हामीलाई उत्साहित तुल्याएको छ । त्यसरी नै, सङ्घीयताका बारेमा प्राप्त सुझावहरू पनि महत्वपूर्ण छन् । यी बिषयहरूलाई संविधान निर्माणको प्रक्रियामा गम्भीरतापूर्वक ध्यान दिइनेछ ।

१२. धर्म व्यक्तिको निजी आस्थाको बिषय हो । लोकतान्त्रिक प्रणालीमा राज्यले धर्म विशेषलाई अवलम्बन गर्नु हुँदैन, राज्य धार्मिक मामलामा तटस्थ रहनुपर्छ र सबै धर्म/धर्मावलम्वीहरूप्रति समभाव राख्नुपर्छ भन्ने अर्थमा नेकपा (एमाले) धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको हो ।

पछिल्लो समय जबर्जस्ती धर्म परिवर्तन, निश्चित समुदायका धार्मिक आस्थामाथि आँच पुर्‍याउने प्रयाश र आफ्ना मौलिक मूल्यमान्यताहरू कमजोर पारिँदै लगिएको अनुभूतिले समाजलाई संवेदनशील बनाएको स्पष्ट देखिन्छ ।

संविधानको मस्यौदामाथि छलफल र रायसुझावमा पनि यो संवेदनशीलता व्यक्त भएको छ । धर्मको नाममा कुनै पनि पक्षले राजनीति गर्न नपाओस् र जनताको धार्मिक आस्था विवादमा पार्ने काम नहोस् भन्ने कुरामा सतर्क रहनुपर्छ ।

राज्य धर्म सापेक्ष हुन नहुने, धर्मको बिषयमा राज्य तटस्थ, साझा र समभावयुक्त हुने, जनतालाई धार्मिक स्वतन्त्रताको प्रत्याभूति हुने र नेपालको मौलिकता, सांस्कृतिक विशेषता र गौरवको सम्बर्द्धन हुने अर्थ खुल्ने गरी यो बिषयलाई प्रष्ट पारिनेछ ।

१३. सङ्घीय प्रदेशहरूको सीमा निर्धारण र नामाकरणको बिषय टुङ्ग्याएरै संविधान जारी गर्न सकेमा त्यो निकै राम्रो हुनेछ । यस दिशामा प्रयाश जारी छन् । तर संविधान जारी गर्ने समयसीमा प्रभावित हुने र संविधान निर्माण अनन्तकालसम्म लम्बिने गरी यस बिषयमा अलमल गर्नु भने हुँदैन भन्ने कुरामा नेकपा (एमाले) स्पष्ट छ ।

सङ्घीयताका आधार र सङ्ख्या स्पष्ट गरिसकेपछि सङ्घीयता बिनाको संविधान हुने हो कि भनेर कसैले पनि आशङ्का पालिरहनु जरुरी छैन । हामी सङ्घीयताप्रतिको आफ्नो प्रतिवद्धतालाई पुनः दोहोर्‍याउन चाहन्छौं । नेपाली समाजको वहुलतायुक्त चरित्र, बहुजातीय–बहुभाषिक–बहुसांस्कृतिक–बहुधार्मिक विशेषता एवं भौगोलिक विविधता प्रतिबिम्बित हुने गरी यथासंभव छिटो प्रदेशहरूको सीमा निर्धारण हुने कुरा स्पष्ट पार्न चाहन्छौं ।

१४. जनताबाट प्राप्त रायसुझावहरूलाई समेट्ने अधिकतम प्रयाश हुने कुरा माथि नै उल्लेख भइसकेको छ । यसका लागि संविधानसभाका मुख्य राजनीतिक दलहरूबीच समझदारी हुनु अत्यावश्यक छ । त्यसैले प्राप्त सुझावको पक्षमा अधिकतम सहमति जुटाउन र निर्धारित मितिमै संविधान जारी गर्ने कुराको प्रत्याभूति हुने गरी छलफललाई अगाडि बढाइएको छ ।

१५.  १६ बुँदे सहमतिको बिषयलाई लिएर सर्वोच्च अदालतको एकल इजलासबाट जारी अन्तरिम आदेशप्रति हाम्रो पार्टी लगायत मुख्य पार्टीहरूको दृष्टिकोण सार्वजनिक भइसकेको छ । न्यायपालिकाको स्वतन्त्रता र भूमिकालाई हामी सम्मान गर्छौ, तर संविधान निर्माण गर्ने संविधानसभाको सार्वभौम, जनताबाट अख्तियारीप्राप्त र विगत जनआन्दोलनको आदेशलाई सङ्कुचित गर्ने कुरामा भने हामी सहमत हुन सक्दैनौं ।

त्यसैले संविधान निर्माणको काम निर्वाध अगाडि बढिरहेको छ । सम्मानित सर्वोच्च अदालतको फूलकोर्टले गतः असार ३१ गते संविधानसभाले प्रस्तुत गरेको संविधानको पहिलो मस्यौदामाथि आफ्ना गहन सुझावहरू प्रस्तुत गरेर संविधानसभाले अगाडि बढाएको संविधान निर्माणको प्रक्रियालाई समर्थन गरिसकेको छ ।

सर्वोच्च अदालतको फूल कोर्टले संविधानको मस्यौदामा समावेश गरी परिमार्जन गर्न दिएका सुझावहरूलाई सामेल गर्न र कार्यान्वयन गर्न पनि संविधान जारी गर्नु अपरिहार्य छ । संविधान निर्माणको यस ऐतिहासिक, संवेदनशील र निर्णायक घडीमा राज्यका सबै अङ्गहरूले शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण र सन्तुलनको मान्यतालाई आत्मसात गर्दै संयमित, सन्तुलित र सुझबुझपूर्ण भूमिका खेल्न पनि हामी पुनः आग्रह गर्दछौं ।

१६. संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दल र अत्यधिक सभासद्हरू संविधान निर्माणका पक्षमा उभिनुभएको छ । संविधान निर्माणको पक्षमा यति ठूलो सहमति निर्माण हुनु ऐतिहासिक उपलव्धि हो । संविधान निर्माण जटिल प्रश्नमा भिन्न राजनीतिक आस्था, मान्यता र उद्देश्य बोकेका दल या पक्षहरूका बीचमा केही मतभेद देखा पर्नु अस्वाभाविक होइन ।

लोकतन्त्रले मतभिन्नता र असहमतिलाई संवाद, अभिमत र मतका माध्यमबाट समाधान गर्ने आधार प्रदान गर्दछ । पहिलो संविधानसभा असफल भएको समेत अनुभवलाई ध्यानमा राखेर यस संविधानसभाबाट संविधान जारी गरीछाड्ने सङ्कल्पकासाथ १६ बुँदे सहमति गरिएको हो ।
प्रदेशको सीमा र नामाकरण समेत टुङ्ग्याएर संविधान जारी गर्नु उचित हुँदाहुँदै पनि तत्काल यसमा सहमति नबनेका कारण सङ्घीय आयोगको व्यवस्था गरेर त्यसको सिफारिसका आधारमा प्रदेशको सीमाङ्कनको टुङ्गो गर्ने र नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिने प्रबन्ध गरिएको हो । संविधानलाई अन्तिम रूप दिने अवस्थासम्म छलफल, संवाद र अन्तरक्रियाहरूका माध्यमबाट असन्तुष्ट दलका सरोकार र जनताका सुझावहरूलाई अधिकतम रूपमा समेट्ने प्रयत्न गरिनेछ ।

१७. संविधान निर्माणको यस निर्णायक बिन्दुमा सबैखाले बाधा व्यवधानलाई पञ्छाउँदै साउन मसान्तभित्रै मुलुकले नयाँ संविधान पाउने छ । संविधान जारी भएसँगै नेपाली इतिहासको यौटा कालखण्ड– अधिकार प्राप्तिका लागि आन्दोलनको कालखण्ड सापेक्षितरूपमा पूरा हुनेछ र नेपाल सामाजिक–आर्थिक रूपान्तरण, राजनीतिक स्थायित्व र समृद्धिको नयाँ चरणमा प्रवेश गर्नेछ ।

यस ऐतिहासिक कालखण्डलाई मार्गदर्शन गर्ने दस्ताबेजको रूपमा संविधानको पहिलो मस्यौदा हाम्रो हातमा छ । यसलाई अझ समृद्ध, परिष्कृत, उन्नत, लोकतान्त्रिक र अग्रगामी बनाउन र अविलम्ब यसलाई जारी गर्न नेकपा (एमाले) निरन्तर क्रियाशील रहनेछ ।

केपी शर्मा ओली
अध्यक्ष, नेकपा (एमाले)

(नेकपा एमालेको जारी पाँचौं केन्द्रिय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित प्रतिवेदन ।)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>