समाचारबुधबार, साउन १३, २०७२

गढीमाईमा पशुबलि रोक्ने निर्णय भएको छैन: अध्यक्ष साह

हिमालखबर

 

सुरेश बिडारी, वीरगञ्ज

TOIबाराको बरियारपुरमा प्रत्येक पाँचवर्षमा लाग्ने गढीमाई मेलामा पशुबली रोक्ने विषयमा कुनैपनि निर्णय नभएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति अध्यक्ष रामचन्द्र साहले बताएका छन् ।

टाइम्स अफ इन्डिया’ लगायतका भारतीय सञ्चारमाध्यममा समितिका अध्यक्ष रामचन्द्र साहलाई उद्धृत गर्दै अबदेखि गढीमाईमा पशुबलि दिन नपाइने र आगामी मेलामा पशुबलि पूर्ण निषेध गरिने भन्ने समाचार प्रकाशित भएपछि साहको यस्तो प्रतिक्रिया आएको हो ।

मन्दिरका पुजारी मंगल चौधरी, सञ्चालन समितिका सचिव मोतिलाल कुशवाह लगायत चार जना बलि रोक्ने विषयमा छलफल गर्न दिल्ली गएको भन्ने चर्चा भैरहँदा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

हिमालखबरसँग कुरा गर्दै साहले भने, “बलि रोक्ने विषयमा हामीले कुनै निर्णय गरेका छैनौं । उतै (भारतमा) केही निर्णय गरेको भए मलाई थाहा छैन ।”

‘ए वन एन्ड साई ईन्डिया’ को निमन्त्रणामा पूजारी मङ्गल चौधरी, विकास समितिका सचिव मोतिलाल कुशवाहा, सहसचिव राजेन्द्र साह लहेरा, सदस्य त्रिपुरारी साह भारतको दिल्ली गएको उनले बताए ।

उनीहरुले दिल्लीमा गएर के–के गरे भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए । साहले भने “यहाँ कोही पनि बलि लिएर आउँदैनन भने हामीलाई आपत्ति हुँदैन्, तर बलि दिन आएकालाई हामी जर्बजस्ती रोक्न पनि सक्दैनौ । यस विषयमा हामीले कुनै निर्णय गरेका छैनौं ।”

उनले अहिले पनि पशु बलिविरुद्ध प्रचार–प्रसार गर्न कसैले नरोकेको र भक्तजनहरु आफैं बलि दिन नआए समिति वाधक नबन्ने बताए । उनले थपे, “ तर, ३/४ सय वर्ष पुरानो चलन एकैपटक कसरी रोकिएला र !”

गढीमाई–२ बजार टोलका रामबाबु यादव पशुबलि गढीमाई मन्दिरको पहिचान र यहाँको संस्कृतिको अभिन्न अंग भएको बताउँछन । उनले भने, “बलि नदिनेहरुले नदेउन्, उनीहरुलाई कसैले जवर्जस्ती गरेको छैन । तर बलि दिन चाहनेमाथि पनि जबर्जस्ती गर्न पाइँदैन ।”

उनले गढीमाईमा दिइने पशु्बलिलाई निरपेक्ष पशुबधसँग मात्रै नजोडेर यसक्षेत्रको संस्कृति, परम्परा, इतिहास र त्यसबाट पर्ने प्रभावको सापेक्षतामा हेरिनुपर्ने जिकिर गरे ।

ठूलो परिमाणमा पशुबलि दिइने हुँदा गढीमाई मेलाबारे पछिल्लो समयमा राम्रै बहस चल्ने गरेको छ । पछिल्लो पटक २०७१ मंसीरमा भएको मेलामा केही संघ–संस्था र व्यक्तिहरूले बलि रोक्न दबाब दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>