समाचारबिहीबार, साउन १४, २०७२
कास्कीमा पहिरोले कम्तीमा १२ को मृत्यु, ३२ घर पुरिए
१३ साउन रातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा १२ जनाको मृत्यु भएको छ ।
उक्त घटनामा करिब २५ जना घाइते भएका छन् । पहिरोले तमागीमा १२ र लुम्लेमाको घुम्तीमा २० घर पुरेको छ । त्यसमा कति जना परे भन्ने एकिन हुन सकेको छैन । करिब १८ जना हराइरहेको स्थानीयले बताएका छन् ।
बाढी पहिरोले हर्पन खोलाको पुल पनि बगाएको छ । उद्धार टोली त्यहाँ जान सकेको छैन ।
पहिरोले पोखरा–बागलुङ राजमार्गमा क्षति पुर्याएकाले उद्धार टोलीले पहिरो पन्छाउँदै घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ ।
पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध
वर्षाका कारण भूकम्पले चर्किएको पर्वतको तिलाहार गाविसस्थित मौरी भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
रातिदेखि नै अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको र दिउँसोसम्म खुल्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
त्यस्तै पर्वतको पाङ गाविसस्थित सहस्रधारामा पनि सडक माथिबाट आएको पहिरोका कारण अवरुद्ध बनेको छ ।
सडक खुलाउनका लागि अहिले प्रहरी र डोजर परिचालन भएको जिल्ला ट्राफिक प्रमुख विकास तिमिल्सिनाले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी र पर्वतबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन ठाउँठाउँमा अलपत्र परेका छन् ।
