समाचारबिहीबार, साउन १४, २०७२

लुम्ले र भदौरेमा पुरिएका १८ जनाको शव निकालियो

हिमालखबर

गएरातिको भीषण वर्षासँगै आएको पहिरोले कास्कीको लुम्ले र भदौरे तमागी गाविसमा पुरिएका घरबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।

लुम्ले गाविसको माझघर गाउँमाथिको भीरबाट पहिरो खस्दा २० हजार लिटरको पानी ट्याङ्की समेत फुटेर थप क्षति पुर्‍याएको घटनास्थलमा रहेका पत्रकार माधव बरालले बताए ।

बरालका अनुसार पहिरोले  पुरिएका १३ घरसँगै वेपत्ता भएका १८ जनाको शव निकालिएको छ भने थप खोजी भइरहेको छ । उनले त्यहाँ लहरै ठूलो क्षेत्रमा पहिरो गएको जानकारी दिए ।

निकालिएका शवमध्ये १० बर्षीय अर्जुन गुरुङ, १० बर्षीया सविना पौडेल, ८४ बर्षीय वसन्त विक, २५ बर्षीया सिजा विक, १४ बर्षीया सम्झना विक, १० बर्षीया सलिना विक, नौ बर्षीय सुनिल विक, २६ बर्षीया मञ्जु सुनार र उनकी तीन महिनाकी छोरी छन् ।

यस्तै, ३२ बर्षीया सुनकुमारी जिसी, पाँच बर्षीय सङ्गम जिसी, ५६ वर्षीय सिरिङ राई र उनकी नाम र उमेर थाहा नभएकी श्रीमती छन् ।

पहिरोले पोखरा–बागलुङ राजमार्ग पनि बन्द भएको छ । यस्तै, भदौरे तमागी गाविसमा अहिलेसम्म पहिरोले पुरिएका घरबाट पाँचजनाको शव निकालिएको छ ।

यहाँ मृत्यु हुनेमा ६५ बर्षीय टीकाराम विक, ५५ बर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली, सात बर्षीय करन पराजुली र ६५ बर्षीया नन्दकली पराजुली छन् । पहिरोमा पुरिएका अझै चारजना बेपत्ता छन् भने अन्य १२ जना घाइते भएका छन् ।

बाढीले हर्पन खोलाको मोटर जाने पुल बगाएकाले सो ठाउँमा जाउजाउ गर्न असुविधा भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>