समाचारशुक्रबार, साउन १५, २०७२
युनिटी सञ्चालक क्षेत्री दाजुभाई पक्राउ

तस्वीर: बिक्रम राई/हिमालखबर
युनिटी इन्टरनेशनलको नाममा सर्वसाधारणको करिब रु. चार अर्ब ठगी गरेका विष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको थियो ।
स्थायी ठेगाना पर्वत, आर्थर डाँडाखर्क- ८ भएका फरार क्षेत्री दाजुभाइलाई प्रहरीले कञ्चनपुरको भारतीय सीमावर्ती गड्डाचौकीबाट पक्राउ गरी १५ साउनमा काठमाडौंमा सार्वजनिक गरेको हो ।
युनिटीमा ४२ वर्षीय विष्णु प्रबन्ध निर्देशक र ४७ वर्षीय कृष्ण तालिम निर्देशक थिए ।
कृष्णले केही हप्ता पहिले आफ्नो भाइ विष्णुलाई अज्ञात समूहले गोली हानेर हत्या गरेको र अन्तिम संस्कार समेत भएको भन्दै फेसबुकमा शवको (नक्कली) फोटो समेत हाली हल्ला फैलाएका थिए ।
युनिटीका अध्यक्ष काशी गुरुङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
करिब चार लाख नेपालीलाई ठग्न सफल युनिटीको विषयमा हिमालले १ बैशाख २०६७ मा खोजमुलक समाचार प्रकाशित गरेपछि सरकारले जावलाखेलस्थित युनिटी मुख्यालयमा छापा मारेको थियो ।
राष्ट्र बैंक र डिभिजन सहकारी संस्थासँग स्वीकृति नलिई निक्षेप संकलन सम्बन्धी वित्तिय कारोबार गरेको र विभिन्न जिल्लाका ३ लाख ६६ हजार ३४२ जनालाई झुठ्ठा आश्वासन दिई रु ३ अर्ब ७९ करोड ९८ लाख ७० हजार १०३ उठाई ठगी गरेको अभियोगमा क्षेत्री दाजुभाईलाई ललितपुर जिल्ला अदालतले जनही ३ वर्ष कैद र रु १ करोड ६ लाख २६ हजार २०० जरिवाना गरी जाहेरवालालाई भराउने फैसला सुनाएको थियो ।
उनीहरु असार २०६७ देखि फरार रहेको र उनीहरुका विरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको प्रहरीले जनाएको छ ।
