समाचारशनिबार, साउन १६, २०७२
खुला बजार अर्थतन्त्रलाई नै बढावा दिइन्छ: दाहाल

तस्वीर: रासस
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खुला बजार अर्थतन्त्रको मूल्य र मान्यतामा नै आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घको ज्ञापनपत्र १६ साउनमा बुझ्दै उनले सार्वजनिक निजी, साझेदारी प्रणालीलाई नै अगाडि बढाइने र खुला बजार अर्थतन्त्रलाई नै संविधानमा लिपिबद्ध गरिने बताए ।
समाजवाद भन्ने शब्दसँग नआत्तिन आग्रह गर्दै दाहालले नेपालको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले नै विशेष भूमिका खेल्नेमा नै सबै राजनीतिक दल प्रतिबद्ध रहेको दाबी गरेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले समाजवादलाई आ–आफ्नै सापेक्षतामा अगाडि बढाएको बताउँदै उनले राजनीतिक स्थिरता र परिवर्तनका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका थिए ।
निजी क्षेत्रका तीनवटा सङ्गठनले प्रतिस्पर्धामा आधारित अर्थतन्त्रमा विश्वास गर्ने भएको र मुलुकले खुल्ला अर्थतन्त्रलाई अङ्गीकार गरी विश्व अर्थतन्त्रमा आबद्ध भइसकेको परिप्रेक्ष्यमा उदार र खुला अर्थतन्त्रलाई संविधानमा नै सुनिश्चित गर्नुपर्ने, संविधानबाट श्रम हकको विषय हटाई श्रम ऐनबाट व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा र श्रम लचकताको सिद्धान्तलाई अङ्गीकार गरी उदार एवम् बजारमुखी अर्थतन्त्रको मान्यतालाई समावेश गर्नुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग प्रतिष्ठानमा लगानी र जोखिम भागेदारी लगानीकर्ताको मात्र हुने हुँदा श्रमिकलाई व्यवस्थापनमा सहभागी गराउन नहुने धारणा राखेका थिए ।
