समाचारमंगलबार, साउन १९, २०७२
ओलीको निर्देशन, ‘पार्टी नीति बाहिर नजानुहोस्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासदहरुलाई पार्टी नीति भन्दा बाहिर नजान निर्देशन दिएका छन् ।
१९ साउनमा नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले भने, “साउनभित्र संविधान जारी गर्ने पार्टी लाइन हो, यसै अनुसार अगाडि बढ्नुपर्छ ।” संसदीय दलको बैठक झण्डै आधा चलेको थियो ।
एमाले सभासद पीके राईले भने, “बैठकमा खासै केही नयाँ अजेण्डामा छलफल भएन, अध्यक्षले निर्देशन दिनुभयो अनि सकियो ।” नयाँ संविधानमाथि जनताबाट आएको सुझाव अध्ययन् गरी प्रतिवेदन तयार पार्न संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गत गठीत विशेष समितिको बैठक छाडेर ओली संसदीय दलको बैठकमा आएका थिए ।
संविधानसभाले सम्वाद समितिलाई प्रतिवेदन तयार पार्न दिएको चार दिनको समय सकिएको दुई दिन भइसक्दा पनि समितिले प्रतिवेदन तयार पार्न सकेको छैन । सीमाकंनसहित संघीयता टुंग्याउन भन्दै विशेष समितिले समय लिइरहेको छ ।
समितिका सभापति बाबुराम भट्टराईले विहान ८ बजे बोलाएको बैठकमा ओली डेढ घण्टा ढिलो पुगेका थिए । त्यहाँबाट संसदीय दलको बैठकमा जानुपर्ने भन्दै अाेली बाहिरिएका थिए । उनी बाहिरिएको डेढ घण्टापछि पनि नफर्किएपछि समितिका सभापति भट्टराईले ओली बैठकमा नभएको भन्दै ट्वीट गरेका थिए ।
ओली भने संसदीय दलको बैठक छाडेर नीजि निवास बालकोट गएका छन् । समितिले अाजै साँझसम्म सीमाकंनसहित संघीयता टुंग्याउने प्रयास गरिरहेकाे समितिका सभापति भट्टराईले बताए ।

