समाचारसोमबार, कार्तिक २७, २०६९
बजेटलाई राजनीतिक हतियार नबनाउन प्रमको आग्रह
रुपन्देहीको पर्रोहास्थित सैनामैना खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गतको ओभरहेड ट्याङ्की शिलान्यास गर्दै २७ कात्तिकमा प्रधानमन्त्री भट्टराईले पूर्ण आकारको बजेट समयमै नआउँदा देशको सम्पूर्ण आर्थिक तथा विकास गतिविधि ठप्प भएको बताए । उनले सरकार अझै पनि बजेटमा सहमति जुटाएर पूर्ण आकारको बजेट ल्याउने पक्षमा रहेको स्पष्ट पारे ।
विगतका सशस्त्र द्वन्द्व, जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धिलाई संविधानसभामार्फत संस्थागत गर्ने कार्यमा महत्वपूर्ण उपलब्धि हासिल हुन नसके पनि सेना समायोजन गरेर शान्ति प्रक्रियामा टुङ्ग्याउने जस्तो महत्वपूर्ण उपलब्धि हासिल भएको भट्टराईले उल्लेख गरे । उनले अब पनि संविधान निर्माणका लागि सहमतिमार्फत नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै छिट्टै नै सहमति गरेर संविधान जारी गर्ने प्रतिबद्धता जनाए ।
