समाचारशनिबार, साउन २३, २०७२
चार दलले जारी गरेको संविधान मान्दैनौः उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलले जारी गरेको संविधान आफूहरुले नमान्ने बताएका छन् ।
प्रमुख दलका नेताहरुले अन्तरिम संविधानमा भएको व्यवस्था पनि कटौती गर्न खोजेको भन्दै उनले यस्तो अवस्थामा आफ्नो पार्टीले नमान्ने बताएका हुन् ।
तत्कालीन संघिय समाजवादी पार्टीसँग मधेसी जनअधिकार फोरमको एकतापछि पहिलो पटक लमजुङमा आयोजित कार्यकर्ता एकता भेलामा भाग लिन लमजुङ आएका यादवले भने, “चार जना नेताहरु बालुवाटारमा बसेर सहमति गर्दैमा संविधान बन्दैन, संविधानसभाको विधि र प्रक्रियाबाट बनाउनुपर्छ ।”
संविधानको मस्यौदाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको भावना आत्मसात गर्न नसकेको उनको दाबी छ ।
उनले समाजवादी फोरम संविधान चाँडै बनोस् भन्ने पक्षमा रहेको भन्दै थपे, “विधि र प्रक्रियामा गएर परिवर्तनको मुद्दा संवोधन गर्ने गरी बन्नुपर्छ ।”
उनले संविधानको मस्यौदा न त संसदीय व्यवस्थाको भावना अनुरुप रहेको न त प्रत्यक्ष निर्वाचित कार्यकारीको भावना अनुरुप रहेको भन्दै आलोचन गरे ।
युवराज श्रेष्ठ, लमजुङ
