समाचारमंगलबार, कार्तिक २८, २०६९
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित भई सबैभन्दा बढी बिकेको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभित्र सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
भौतिक लालसा कम र सेवाभावप्रधान रहेका देवकोटा जस्ता साहित्यकार त्यस बखत कमै थिए उनले नेपाली जनजातिको अध्ययन गरी साहित्यमा पनि विविध भाषा र संस्कृति प्रवेश गराएका थिए ।
