समाचारआइतबार, साउन २४, २०७२
नाराबाजीबीच परिमार्जित मस्यौदा संविधानसभामा पेश
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव समेट्दै तयार पारिएको परिमार्जित मस्यौदा संविधानसभाका अध्यक्ष सुुवास नेम्वाङले संविधानसभामा पेश गरेका छन् ।
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तयार पारेको परिमार्जित मस्यौदा संविधानसभामा पेश गरिएको हो । सम्वाद समिति अन्तर्गत गठीत शीर्ष नेताहरु सम्मिलित विषेश समितिले तयार पारेको ६ प्रदेशको सीमाकंनसहितको परिमार्जित मस्यौदा संविधानसभामा पेश भएको हो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परिमार्जित मस्यौदा पेश गर्न सम्वाद समितिका सभापति बाबुराम भट्टराई समय दिनासाथ राप्रपा नेपाल, मधेश केन्द्रित केही दल र असन्तुष्ट सभासदहरुले नाराबाजी गरेका थिए । तर, नाराबाजीबीच भट्टराईले मस्यौदा संविधानसभामा पेश गरेका छन् ।
मस्यौदा पेश गरेपछि सभाध्यक्ष नेम्वाङले २६ साउन विहान ९ बजे अर्काे बैठक बस्नेगरी बैठक स्थगित गरे ।
मस्यौदामा हस्ताक्षरकर्ता दलकै सभासदहरुको विरोध
परिमार्जित मस्यौदा हस्ताक्षरकर्ता दलकै सभासदहरुले विरोध जनाएका छन् । नेपाली कांग्रेसका सभासदहरु सुरेन्द्र चौधरी, हृदयराम थानी, ज्ञानकुमारी छन्त्याल, एमाओवादीका सभासदहरु गणेशमान पुन, महेन्द्रबहादुर शाही, गौरीशंकर चौधरी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरीलगायतले विरोध जनाएका थिए ।
राप्रपा नेपालले मस्यौदा च्याते
प्रमुख चार दलले असंवैधानिक विधमार्फत संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै राप्रपा नेपालले संविधानको परिमार्जित मस्यौदा च्यातेको छ ।
विषेश समय लिएर बोल्दै पार्टी अध्यक्ष कमल थापाले संविधानसभा भन्दा बाहिर गएर दलहरुले गरेको सम्झौताले मुलुकलाई निकास नदिने भन्दै मस्यौदा च्यातेपछि उक्त पार्टीका सभासदहरुले पनि मस्यौदा च्योतेका थिए ।
राप्रपा नेपालले हिन्दू राज्य नयाँ संविधान नल्याई धार्मिक द्वन्द्व निम्त्याउन खोजेको बताए । उनले संविधानमा हिन्दू राज्य कायम गरिनुपर्ने बताए ।
-कपिल भट्ट
