समाचारसोमबार, साउन २५, २०७२
रुकुम फुटाएको भन्दै एमाओवादी सभासदको घरमा तोडफोड
अखण्ड रुकुमको माग गर्दै सभासद जनार्दन शर्मा र मिठू मल्लको घरमा तोडफोड भएको छ ।
६ प्रदेशको संघीयतामा रुकुमलाई फुटाएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुले त्यहाँबाट प्रत्यक्ष निर्वाचित एमाओवादी नेता शर्मा र समानुपातिक सभासद मिठू मल्लको घरमा तोडफोड गरेका छन् । यी सभासदहरुले जिल्ला फुटाउँदा पनि केही नगरेको भन्दै तोडफोड गरेका थिए ।
प्रदर्शनकारीले अहिले रुकुममा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । त्यहाँका स्थानीय राजनीतिक दल, नागरिक समाज, व्यवसायीहरुले समेत आन्दोलनलाई साथ दिएका छन् ।
माग पूरा नभएसम्म प्रदर्शनसहित बन्द आह्वान गरिएको नेपाली कांग्रेसका सभापति मानबहादुर नेपालीले बताए । उनले भने, “माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं ।” बन्दका कारण विहानैदेखि जनजीवन प्रभावित बनेको छ ।
-लक्ष्मण केसी, रुकुम
