समाचारसोमबार, साउन २५, २०७२
सुर्खेत प्रदर्शनमा संविधान विरोधी हावी: एमाले नेता कँडेल
सुर्खेत जिल्लालाई प्रस्ताबित प्रदेशमा सुदुरपश्चिमतिर पारेकोले प्रदेशको राजधानी सुर्खेत बजार नहुनसक्ने भन्दै २४ साउनबाट थालिएको प्रदर्शन उद्धेश्य बाहिर गएको आयोजकले जनाएको छ । “सुर्खेतलाई सुदुरपश्चिममा राख्न नहुने माग र नागरिक समाजको व्यानरमा हाम्रो पुरा समर्थन छ”, नेकपा एमालेका केन्द्रिय सदस्य यमलाल कँडेल भन्छन्, “तर, प्रदर्शन त्यो उद्धेश्यभन्दा बाहिर गईसकेको छ ।”
पूर्व सभासद समेत रहेका कँडेल प्रदर्शनमा संविधान बनाउन नदिने तत्व हावी भएको पनि बताए । एमाले, नेपाली काँग्रेस र एमाओवादीको पार्टी कार्यालय तथा काँग्रेस नेता पूर्णबहादुर खड्काको घरमा आक्रामण भएबाट घुसपैठको पुष्टि भएको कँडेलको भनाई छ । कँडेलले प्रदर्शनमा नचिनेका अनुहारहरु देखिएको हिमालखबरसँग बताए ।
काँग्रेस नेता तथा सभासद पूर्णबहादुर खड्का पनि संविधान विरोधीहरूले आफ्नो घरमा आक्रमण गरेको बताउँछन् । संविधान निर्माणमा निरन्तर लागि रहेको नेताकै घरमा आक्रमण गर्ने तत्व कुन होला भन्ने प्रष्ट रहेको उनले बताए । काँग्रेसका अर्का सभासद खड्गबहादुर बस्याल सिमांकन सम्बन्धि असन्तुष्टिको विषयमा छलफल गर्न १२ बजे सर्वदलीय बैठक बोलाइएको त्यसअघि नै आक्रमण भएको बताउँछन् । “आक्रमण काँग्रेस लक्षित देखिएको छ”, बस्याल भन्छन् ।
त्यहाँ झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये १८ जनालाई गोली लागेको छ ।
प्रदर्शनकारीको आक्रमणमा परी नेपाल प्रहरी र सशस्त्र गरी २० जना प्रहरी नै घाइते भएका छन् । गोली लागेर मृत्यु हुनेमा विरेन्द्रनगर–४, भैरवस्थानका ४८ टिकाराम गौतम र विरेन्द्रनगर–८, ३५ यामबहादुर बीसी छन् । बीसीलाई धमलाचोंकमा र गौतम इब्राममा गोली लागेको थियो ।
जिल्ला प्रशासनले साँझ ९ बजे सम्मका लागि कर्फ्यु लगाएको छ ।
