समाचारमंगलबार, साउन २६, २०७२
सीमाङ्कनको स्वागत गर्दै नवलपरासीमा दीपावली

तस्वीर: विद्रोही गिरी
राजनीतिक दलहरुबीच ६ प्रदेशमा सहमति जुटेसँगै नवलपरासीको नवलपुरक्षेत्र ( दाउन्नेपूर्व) लाई ४ नं. प्रदेशमा समावेश गरेको खुशीयालीमा स्थानीयले चोक चोकमा मैनबत्ति बालेर खुशी ब्यक्त गरेका छन् ।
पञ्चायती ब्यवस्थादेखि प्रशासन केन्द्र पायक पर्ने ठाउँमा नहुँदा दुख पाएको भन्दै उनीहरुले प्रदेशको सीमाङ्कनमा खुशी ब्यक्त गरेका हुन् ।
जिल्ला टुक्रिएको भन्दै अन्य ठाउँहरुमा विरोध भइरहँदा नवलपरासीको दाउन्ने पूर्वको क्षेत्रमा भने खुशीयाली छाएकोे छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओम पौडेलले भने– “प्रशासनिक सुगमता अहिलेको आवश्यकता हो, यो प्रदेशले हामीलाई त्यही अनुभूति दिएको छ ।”
तीन नगरपालिका १७ पहाडी गाविस सहित २७ गाविस रहेको यो क्षेत्रलाई संघीय प्रदेशमा प्रशासनिक इकाइ हुने गरी ब्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् ।
दाउन्ने, त्रिबेणी, दुम्किबास, अरुणखोला, चोरमारा, कावासोती, प्रगतिनगर, रजहर, अमरापुरी, गैंडाकोट क्षेत्रका बासिन्दाहरु मुस्ताङ देखि त्रिबेणी सुस्ता सम्म आफ्नो प्रदेश भएकोमा खुसी ब्यक्त गरेका हुन् ।
उता थारु कल्याणकारी सभा नवलपरासीले भने प्रदेशमा थारु समुदायको पहिचान झल्कनुपर्ने बताउदै आएको छ ।
विद्रोही गिरी
