समाचारमंगलबार, साउन २६, २०७२
सुर्खेत, रुकुम, सल्यान, हुम्ला र जाजरकोट बन्द
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेत, रुकुम, सल्यान, हुम्ला र जाजरकोटमा प्रदर्शन भइरहेको छ ।

अखण्ड रुकुमसहित अखण्ड मध्यपश्चिमको माग गर्दै रुकुममा भएको प्रदर्शन । तस्वीर: लक्ष्मण केसी
रुकुमः
रुकुम जिल्लालाई नटुक्राउन र अखण्ड मध्यपश्चिमको माग गर्दै रुकुममा प्रदर्शन शुरु भएको छ । प्रस्तावित ६ नं. प्रदेशमा राखिएको रुकुमको पश्चिमी भेगबाट सदरमुकाममा जम्मा भएकाहरुले अहिले प्रदर्शन गरिरहेका छन् ।
यसअघि उनीहरुले सदरमुकामस्थित सबै दलका कार्यालयहरुमा गएर ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला उद्योग वाणिज्यसंघको संयोजनमा यातायात व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था मिलेर शुरु गरेको आन्दोलनमा जिल्लाका राजनीतिक दलहरु समेत सहभागी भएका छन् ।
अव केही बेरमै संघर्ष समिति गठन गरेर औपचारिक आन्दोलन घोषणाको तयारी भइरहेको नेपाली कांग्रेस रुकुमका सभापति मानवबहादुर नेपालीले जानकारी दिए ।
आन्दोलनका कारण जिल्लाको यातायात, विद्यालय, वित्तिय संस्थाहरु ठप्प भएका छन् ।
सल्यानः
सल्यानलाई मध्यपश्चिमबाट अलग्याइएको विरोधमा २५ साउनबाट शुरु भएको आन्दोलन आज पनि जारी नै छ ।
जिल्लाका विभिन्न संघ संस्था र राजनीतिकदलहरु समेत आन्दोलनमा सहभागी भएपछि यातायात, विद्यालय, बजार, कार्यालयहरु सबै बन्द छन् ।
सल्यान भएर चल्ने लामो र छोटो दुरीका सबै सवारी साधन चलेका छैनन् ।
सुर्खेतः
सुर्खेतलाई सुदूरपश्चिमसहितको प्रदेशमा मिलाइएको विरोधमा शुरु भएको आन्दोलनमा २५ साउनमा दुई जनाको ज्यान गएपछि आज २६ साउनमा विरेन्द्रनगर बजार पूरै ठप्प छ ।
विहानभर पानी परेकाले सडकमा प्रदर्शन नभए पनि पानी थामिएसँगै ¥याली शुरु भएको छ ।
स्थानीय प्रशासनले सरकारी कार्यालयहरु वरपर निषेधित क्षेत्र घोषणा गर्दै आन्दोलन–प्रदर्शन गर्न रोक लगाएको छ ।
जिल्ला अस्पतालमा रहेको दुई आन्दोलनकारीका शव आफन्तले बुझेका छैनन् ।
हुम्ला:
प्रदेश सिमाङ्कनको विरोध गर्दै हुम्लामा आज बिहानदेखि नेपाली कांग्रेस, एमाओवादी, एमाले, राप्रपा नेपाललगायत १२ वटा पार्टीले सदरमुकाम सिमीकोट बजारलगायत हवाई मार्गसमेत बन्द गराएका छन् ।
कर्णाली अञ्चलका सबै जिल्लालाई मध्यपश्चिममा जोड्नुपर्ने माग राखी आज बिहानैदेखि स्वतःस्फूर्त बन्द आह्वान गरेका हुन् ।
कुनै अप्रिय घटना हुन नदिन प्रहरीले पनि बजारका गल्लीगल्लीमा कडा सुरक्षा निगरानी गरी बसेका छन् ।
जाजरकोट:
प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले जिल्ला बन्द गरेका छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित उनीहरुले आन्दोलन शुरु गरेका हुन् ।
चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले सदरमुकाम खलङ्गामा प्रमुख दलहरुको निर्णयविरुद्ध नाराजुलुससहित प्रदर्शन गरिरहेका छन् ।
“प्रदेश नं ६ को सीमाङ्कन खारेज गर, प्रादेशिक राजधानी सुर्खेतलाई घोषणा गर, जाजरकोटीलाई अन्याय गर्न पाइँदैन,” जस्ता नारा लगाउँदै उनीहरुले खलङ्गाबजार जुलुससहित परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए ।
आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने र आमहडतालका कार्यक्रम सञ्चालन गर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
सीमाङ्कनले आफूहरुलाई निकै मर्का परेकाले जिल्लाका सबै व्यापारी, उद्योगी, पत्रकार, शिक्षक, बुद्धिजीवी र विद्यार्थीको सहभागितामा संविधानसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाइएको शाहले बताए ।
बन्दले गर्दा यातायात, विद्यालय र बजार ठप्प भएका छन् ।
