समाचारबुधबार, साउन २७, २०७२

मस्यौदालाई विधेयक बनाउन पाँच दिनको समय

हिमालखबर

संविधानसभाको बैठकले संविधानको परिमार्जित विधेयक तयार गरी बढीमा पाँच दिनभित्र सभामा प्रस्तुत गर्न संवैधानिक मस्यौदा समितिलाई निर्देशन दिएको छ ।

त्यसअघि संविधानसभाले संवाद समितिले पेस गरेको प्रतिवेदनलाई विधेयकको रुप दिन मस्यौदा समितिमा पठाउने प्रस्ताव पारित गरेको थियो ।

संविधानसभाले ५ दिनभित्र मस्यौदालाई अन्तिम रुप दिइ विधेयकका रुपमा संविधानमा पेश गर्न पनि भनेको छ ।

संवाद समितिले पेस गरेको प्रतिवेदन माथि सभासद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मस्यौदामाथि जनताबाट व्यक्त असन्तुष्टिलाई अन्यथा लिन नहुने बताएका थिए ।

संविधान बनाएर लोकतन्त्रका उपलब्धिको रक्षा गर्दै जनहितमा लाग्नुपर्ने भट्टराईको भनाई थियो ।
उनले सबै पक्षको धारणा समेट्दा प्रस्तावना लामो भएको पनि बताए ।

उनले प्राप्त अधिकार संस्थागत गर्ने र बाँकी अधिकार थप्दै जाने प्रक्रियाका आधारमा अगाडि बढ्ने भएकाले संविधान लेखन प्रक्रियालाई सोही रुपमा बुझिदिन आग्रह गरे ।

भट्टराईले अहिलेको सीमाङ्कन अन्तिम नभएकाले आगामी दिनमा आवश्यक फेरबदल गर्न सकिने बताए ।

उनले जातीय, भाषिक, सांस्कृतिक पहिचान नखबलियोस् भनेर ध्यान दिँदादिँदै पनि केही कमजोरी भएको स्वीकार गर्दै नमिलेका विषयलाई आगामी दिनमा मिलाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गलत मनसायले मध्यपश्चिममा आन्दोलन
नेपाली कांग्रेसकातर्फबाट सभासद पूर्णबहादुर खड्काले राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदन माथिको छलफलमा भाग लिँदै गलत मनसायले मध्यपश्चिममा आन्दोलन गरेकाले त्यसलाई समयमै सम्बोधन गर्न माग गरे ।

केही सीमित तत्वले राजनीतिक स्वार्थ पूर्ति गर्ने उद्देश्यले सुर्खेतमा अराजनीतिक गतिविधि गर्दा अनाहकमा तीनजना व्यक्तिले ज्यान गुमाउनु परेको उनको भनाई थियो ।

थारुवान, मगरात तथा कर्णाली अञ्चललाई स्वायत्त क्षेत्रको रुपमा राखेर सम्बोधन गर्न सकिने उल्लेख गर्दै खड्काले समस्या समाधानको विभिन्न विकल्प भए पनि जनभावनामा खेलबाड नगर्न आग्रह गरे ।

मध्यपश्चिम, कर्णाली र थारु बहुल क्षेत्रलाई विभिन्न ढङ्गले सम्बोधन गर्न सकिने भए पनि गलत मनसायका साथ भएका आन्दोलनको पछाडि नलाग्न उनले अपील समेत गरे ।

संविधानसभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमा दुई दिनसम्म भएको छलफलमा एकसय ८१ जना सभासद्ले भाग लिनुभएको थियो ।

संविधानसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>