समाचारआइतबार, साउन ३१, २०७२
गृहमन्त्रीलाई जवाफ दिन रुलिङ
सामाजिक सदभाव विथोल्नेगरी आइरहेको अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको प्रश्न सभासदहरुले उठाएपछि सभामुखले गृहमन्त्रीलाई जवाफ दिन रुलिङ गरेका छन् ।
३१ साउनमा बसेको संसद बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले अर्काे बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका हुन् । नेम्वाङले भने, “शान्तिपूर्ण विरोध गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार नागरिकलाई भए पनि सदभाव बिथोल्न पाइदैन ।”
नेपाली कांग्रेसका सांसद बीरबहादुर बलायरले आफ्नै पार्टीका सांसदहरुले सामाजिक सदभाव विथोल्ने प्रकृतिका अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
उनले भने, “अमरेशकुमार सिंहलगायत केही भाडाका व्यक्तिहरुले राष्ट्रिय स्वाधीनता र अखण्डता विरुद्ध साम्प्रदायिक हिंसा निम्त्याउने गरी अभिव्यक्ति दिइरहेका छन्, उनीहरुलाई कार्वाही हुनुपर्छ ।”
उनले आफ्नै पार्टीको आलोचना गर्दै भने, “मेरो पार्टी सिरक ओढ्न खोज्दैछ, सिरकभित्र मुसा पाल्दैछ, यो भन्दा बिडम्बना के हुन सक्छ ?”
एमोओवादीका गौरीशंकर चौधरीले शान्तिपूर्ण रुपमा हक अधिकारको माग गर्दा सरकारले धरपकड गर्ने देखि गोली प्रहार गर्नेसम्मका काम भएको भन्दै आपत्ति जनाए ।
नेकपा एमालेका जयप्रकाश थारुले थारु समुदायलाई उक्साएर अभिव्यक्ति दिएकोमा छानविन गर्न माग गरे ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले थारुहरुको पहिचान समाप्त हुने गरी सीमाङकन भएको र अधिकारको लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरिरहेको आरोप लगाए ।
-कपिल भट्ट, काठमाडौं
