समाचारसोमबार, साउन ३२, २०७२
राजधानीमा बन्दको सामान्य प्रभाव, कालिमाटीमा गाडी जलाइयो
संविधानसभा निर्वाचन वहिस्कार गरेको बैद्य माओवादी सहित केही जनजाति र मधेश केन्द्रित दलहरुले आह्वान गरेको बन्दको प्रभाव दोस्रो दिन काठमाडौँ उपत्यकामा निकै कम परेको छ ।
आजको बन्दमा राजधानीका सडकमा मोटरसाइकल बाक्लै चलेका छन् । साझा बस चलेको छ भने केही टेम्पो, ट्याक्सी, माइक्रो बसहरु पनि चलेका छन् । निजी कारहरु पनि सडकमा देखिन्छन् ।
मुख्य सडकका पसलहरु बन्द भए पनि भित्री सडकका पसलहरु खुला छन् ।
बन्दकर्ताले विहानै कालिमाटीमा भारतीय नम्बरको गाडी जलाएका छन् । त्यस्तै बत्तिसपुतलीमा ट्याम्पोमाथि आगजनी र बल्खुमा यात्रुबाहक बस तोडफोड भएको छ ।
सार्वजनिक सवारीसाधन पर्याप्त मात्रामा नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । बन्दकर्ताको चहलपहल सडकमा देखिदैन ।
बन्द गराउँदै हिडेका १५ जनालाई प्रहरीले काठमाडौंको असनबाट पक्राउ गरेको छ । त्यस्तै झोलामा ढुंगा बोकेर बन्द गराउँदै हिँडेका एक जनालाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।
रत्नपार्कमा बन्दविरुद्ध प्रदर्शन भएको छ ।
