समाचारमंगलबार, भाद्र १, २०७२
‘पश्चिमाञ्चल बढाउन सकिन्छ घटाउन सकिदैन’
सीमाकंनमा असन्तुष्टि जनाउँदै अखण्ड आन्दोलन चलिरहेका बेला पश्चिमाञ्चल क्षेत्रका प्रमुख नेताहरुले पनि काठमाडौंमा भेला गरेका छन् ।
उनीहरुले पश्चिमाञ्चल एउटै प्रदेश बनाउँदा सामथ्र्य र पहिचान समेटिने भन्दै फुटाउन नहुने बताए । नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भएको भेलामा उक्त क्षेत्रका नेताहरुले पश्चिमाञ्चलमा अरु जिल्ला थप्न सकिने तर घटाउन नसकिने बताए ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “लुम्बिनी, मुक्तिनाथ, पर्यटकीय पोखरालगायत ऐतिहासिक, धार्मिक र आर्थिक हिसाबले उपयुक्त पश्चिमाञ्चल फुटाउन सकिदैन ।” उनले अन्य क्षेत्रको जिल्ला थप्न सकिने तर अखण्ड पश्चिमाञ्चल हुनुपर्ने बताए ।
पौडेलले भने, “पश्चिमाञ्चलसँग सिमाना मिल्ने केही जिल्ला मिसाउन सकिन्छ, यदि आउनुहुन्छ भने स्वागत छ, तर पश्चिमाञ्चल चाहिँ एउटै हुनुपर्छ ।” अर्का कांग्रेसका नेता गोपालमान श्रेष्ठले पनि पौडेलको तर्कलाई समर्थन जनाए ।
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले पश्चिमाञ्चल टुक्रिन नहुने भन्ने जनताको चाहना भएकाले आफूहरुले सोही माग राखेको बताए । “एकाध अरु जिल्ला थपेर पश्चिमाञ्चल कायम राख्ने सम्भावना छ”, उनले भने ।
एमाओवादीका सचिव टोपबहादुर रायमाझीले पश्चिमाञ्चल अखण्ड राख्दा एकाध जिल्लाबाहेक असन्तुष्टि नरहेको बताए । रायमाझीले भने, “साझा मनोविज्ञान, सामथ्र्य र सम्भावना मिलेको छ, नाम जे राखे पनि केही फरक पर्दैन ।”
भेलामा नेताहरु शङ्कर भण्डारी, धनराज गुरुङलगायतले पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश मानेर पाँच प्रदेशमा जानुपर्ने बताए भने अब्दुल रज्जाक, शिवराम थापालगायतले फरक मत राखे । रासस
