समाचारबिहीबार, भाद्र ३, २०७२
आन्दोलन हिंसात्मक हुन थालेपछि तौलिहवामा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवामा धर्ना, प्रदर्शन तथा सामूहिक भेला गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
मधेशी मोर्चाले आह्वान गरेको आम हडताल १ र २ भदौमा हिंसात्मक बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२ भदौ राति जारी गरिएको निषेधाज्ञानुसार सदरमुकाम तौलिहवा क्षेत्रको पूर्वतर्फ जमुवार नदी, पश्चिममा भिक्षु चोकदेखि बसपार्क सम्म, उत्तरतर्फ भिक्षु चोकदेखि महितासम्म र दक्षिणमा बसपार्क नजिकको चोक गल्ली सम्म कुनै पनि धर्ना, जुलुश, भेला र सार्वजनिक कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले बताए ।
२ भदौमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाईते भएका छन् ।
यसै गरी प्रहरीको लाठी प्रहारबाट १५ जना प्रदर्शनकारी घाईते भएका छन् भने प्रदर्शनकारीको आक्रमणबाट प्रहरी उपरीक्षक विक्रम गुरुङसहित १० जना प्रहरी पनि घाइते भएका छन् ।
हिंसात्मक प्रदर्शनमा उत्रिएका आधा दर्जन प्रर्दशनकारीहरुलाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरुले बुधवार दिनभर जसो जिल्ला प्रशासन कार्यालय अगाडी ढुंगामुढा गर्दै प्रहरी उपर आक्रमण गरेका थिए ।
उनीहरुले घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन परिसरको सुरक्षाकर्मी आवास, प्रहरी विट लगायतको स्थलहरुमा तोडफोड र आगजनी गरेका छन् ।
गोपाल भण्डारी, कपिलवस्तु
