समाचारशुक्रबार, भाद्र ४, २०७२
स्वामी प्रपन्नाचार्यको निधन
स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३:३० बजे मृगस्थली आश्रममा निधन भएको छ ।
उनी लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए ।
तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य प्रपन्नाचार्यले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन् ।
‘वेदमा के छ ?’ नामक उहाँको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी पनि उनका धेरै कृति प्रकाशित छन् ।
हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
साथै सरकारले उनको योगदानको कदर गर्दै आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।
विसं १९८० मा पाँचथरमा जन्मिएका उनको वास्तविक नाम काले राई भए पनि ज्ञानार्जनपछि उनी प्रपन्नाचार्यका नामले चिनिए । उनले ३० वर्षको उमेरमा लेखपढ गर्न प्रारम्भ गरेका थिए ।
को हुन् स्वामी प्रपन्नाचार्य ?
पुर्वीय दर्शनका अध्येता स्वामी प्रपन्नाचार्य फिदिम–३, साविकलालीखर्क पाँचथरमा बुवा धम्वे राई र आमा दिलमायाको पहिलो सन्तानका रुपमा जन्मिएका थिए । बाल्यकालमा उनलाई बोलाउने नाम थुप्रै थिए ।
पुरोहितले न्वारानमा गुज्जे नाम राखिदिए भने परिवारले काले भनेर बोलाउँथे । मावलीतर्फ उनी जगबीरे र सिताराम भनेर चिनिन्थे । पछि उनले काले राई भनेर आफूलाई चिनाए ।
भारतको वनारस, हरिद्वार र ऋषिकेश जस्ता आश्रम पुगेर काले राईले बाहुनका छोराहरुमा मात्र सीमित वैदिक ज्ञान हासिल गरे । प्रचलित मान्यता विरुद्ध उनले ‘वेदमा के छ ?’ भन्ने विषयमा सोधकार्य पूरा गरी प्रपन्नाआर्य बने । राणा शासन चलिरहेको उक्त समयमा यो सफलता प्राप्त गर्नु असमान्य संघर्ष बिना असंभव देखिन्छ ।
उनी सानैदेखि चञ्चले र जिज्ञासु थिए । उनको बाल्यकाल गाईवस्तु चराउने, खेल्ने र बुवाआमालाई सघाउनमै बितेको उनले आफ्नो पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ ।
तत्कालीन राजनीतिक र सामाजिक अवस्थाले उनले पढ्न पाउने अवस्था थिएन । तर, उनी विद्रोह गर्दै पाँचथर र इलामको सीमा रविबजार पुगे । त्यहाँ उनको भेट नामुद किराँती पद्यमलाल (रामानन्द) सँग भयो ।
झण्डै ६ महीना पद्यमलालको घरमा बसेपछि उनी वनारसतिर लागे । पद्यमलालको घरमा ताप्लेजुङबाट आएका पण्डित दामोदर खतिवडाले त्यसपछि काले राईलाई वनारस पुर्याईदिए ।
२०१० सालमा उनी पण्डित खतिवडासँग नवारसतिर लागेका थिए । आर्य समुदायका छात्रको वाहुल्यता रहेका ती स्थानमा उनलाई शिक्षा दिन शिक्षकहरुले पनि सहजै तत्परता देखाएनन् । त्यस बीचमा उनले हरिद्वार, ऋषिकेष, यमोत्तरी, वद्रीनाथजस्ता स्थानको भ्रमण सकेर इस्वी सम्वत १९५९ मा स्वामी सच्चिदानन्द आदर्स संस्कृत महाविद्यालयवाट संस्कृत विधाको औपचारिक अध्ययन शुरु गरी छाडेका थिए ।
झण्डै चार वर्षको अध्ययनपछि १९६६ मा वराणसीवाट प्रमाणपत्र तह, विश्वनाथ गुरुकुल संस्कृत कलेजवाट शास्त्री (बीए) र उदाशीन संस्कृत कलेज मृघाट वराणशीवाट एमए (आचार्य) सम्मको औपचारिक अध्ययन १९७३ मा पुरा गरे ।
त्यसपश्चात उनले सरयु संस्कृत महाविद्यालयको भाइस चान्स्लर र विभिन्न विद्यालय तथा महाविद्यालयमा शिक्षण गरेको पाइन्छ । उनले विद्यावारिधि भने १९७५ मा ‘बेदमा के छ ?’मा शोधकार्य गरी डाक्टर उपाधी पाएका ।
यसरी एउटा पूर्वी नेपालको एउटा राई परिवारमा जन्मेका काले अन्ततः स्वामी प्रपन्नाचार्य बने र बाहुन समुदाय बाहेकले पनि वैदिक ज्ञान लिनसक्छ र मिल्छ भन्ने उदाहरण प्रस्तुत गरे । डाक्टर स्वामी प्रपन्नाचार्य भन्दा पहिले बाहुन वाहेक अरु समुदायले वेद पढ्नै हुँदैन भन्ने मान्यता चलिआएको थियो ।
उनको कृति नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी भाषामा प्रकाशित छन् । स्वामी प्रपन्नाचार्यले नेपाल, भारत, यूरोप, इंगल्याण्ड, फ्रान्स, बेल्जियम, होल्याण्ड, स्वीजरल्याण्ड, इटाली, अष्टे«लिया, जर्मनी, अरवलगायत देशका शास्त्रीय दर्शनको व्याख्या समेत गरेको पाइन्छ ।
लक्ष्मी गौतम, पाँचथर
